विद्युतीय कारमा कति वर्ष चल्छ ब्याट्री ? यस्तो आयो पहिलो रिपोर्ट

काठमाडौं । विद्युतीय साधनमा प्रयोग हुने ब्याट्री कति वर्ष चल्छ भन्ने बहस विश्वभर नै भइरहेको छ । नेपालमा पनि अधिकांश कम्पनीले ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म वारेन्टी दिने गरेका छन् । तर, ईभीको ब्याट्री कति वर्षपछि डिग्रेड हुने कसैले भन्ने गरेका छैनन् ।

अमेरिकी चर्चित इलेक्ट्रीक ब्राण्ड टेस्लाले हालै मात्र ब्याट्री क्यापासीटी रिटेन्सनका बारेमा केहि जानकारी सार्वजनिक गरेको छ । टेस्लाको २०२३ इम्प्याक रिपोर्ट अनुसार मोडल ३ र मोडल वाईको लङ रेन्ज भर्सनमा ३ लाख २० हजार किलोमिटर गुड्दा ब्याट्री १५ प्रतिशतले डिग्रेड भएको देखाएको छ ।

कम्पनीले मोडल-३ र मोडल वाईको लङ रेन्ज मोडलमा प्रयोग भएको ब्याट्री डिग्रेडेसन रेटलाई सबैले राम्रो भनिरहेका छन् । तर, मोडल एस र मोडल एक्सको रिपोर्ट थप राम्रो आएको छ । मोडल एस र मोडल एक्समा ३ लाख २० हजार किलोमिटर गुडेपछि १२ प्रतिशत मात्रै ब्याट्री डिग्रेड भएको छ ।

टेस्लाको अनुसार यी कारमा प्रयोग भएका ब्याट्री अझ थप ३ लाख किलोमिटर यात्रा गर्नका लागि उपयुक्त रहनेछन् । सामान्यतया अमेरिकामा ३ लाख किलोमिटर गुडेपछि कारलाई स्क्रयाप गर्ने चलन छ । त्यस्तै, यूरोपमा २ लाख ५० हजार किलोमिटर गुडेपछि कार स्क्रयाप हुन्छ । त्यसैले यी देशमा टेस्लाका गाडीमा ब्याट्रीको विषयमा बहस नै गर्नु नपर्ने देखिएको हो ।

टेस्लाको मोडल-३ र मोडल वाई लङ रेन्ज भर्सनमा २१७० टाइपको सिलेन्ड्रीकल एनसीए वा एनसीएम व्याट्री प्रयोग भएको छ ।

टेस्लाले दिएको डाटा अनुसार सुरुवाती चरणमा ब्याट्रीका डिग्रेडेसन छिटो भएको छ । ब्याट्रीको १० प्रतिशत क्षमता १ लाखदेखि १ लाख २० हजार किलोमिटर गुड्दा नै गिरेको उल्लेख छ । त्यसपछि भने विस्तारै ब्याट्री घट्ने देखिएको हो ।


Back_to_top