काठमाडौं । बीवाइडीले आफ्ना चर्चित कारको मूल्य सामान्य हेरफेर गरेको छ । बजेटकले समग्रमा १२ प्रतिशत हाराहारीको मूल्यमा असर पारेपछि मूल्य बढाएको हो ।
बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले डल्फीन ह्याचव्याकको मूल्य १ लाख ३५ हजार रुपैयाँले वृद्धि गरेको छ । कम्पनीले यसअघि ३९ लाख ८० हजार रुपैयाँमा बिक्री गर्दै आएको डल्फीनको नयाँ मूल्य ४१ लाख १५ हजार बनाइएको हो ।
नेपालमा सर्वाधिक सफल मोडल एटो–थ्रीको एड्भान्स मोडलमा ९१ हजार रुपैयाँ मात्रले मूल्य वृद्धि गरेको कम्पनीले नयाँ मूल्य ५६ लाख ९० हजार बनाएको हो ।
एटो–थ्रीकै सुपेरियर मोडलको मूल्य ६७ लाख ८० हजार बनाइएको छ । यसअघि यसलाई कम्पनीले ६५ लाख ८८ हजार रुपैयाँमा बिक्री गर्दै आएको थियो । समग्रमा कम्पनीले यी सफल मोडलमा ५ प्रतिशत हाराहारीले मात्रै मूल्य वृद्धि गरेको हो ।
बीवाइडीकै प्रिमियम मोडल स्पोर्टी सेडानको मूल्य भने १० लाख रुपैयाँसम्मले वृद्धि भएको छ । कम्पनीले सिल वेस भेरियन्टको मूल्य १ करोड ५ लाखबाट बढाएर १ करोड १० लाख बनाएको छ ।
सिल मिड भेरियन्टको मूल्य १ करोड ३९ लाखबाट बढेर १ करोड १४५ लाख ५० हजार र टप भेरियन्टको मूल्य १ करोड ८५ लाखबाट बढेर १ करोड ९५ लाख पुगेको हो ।
मार्केट लिडर बीवाइडीले डल्फीन र एटो–थ्रीमा लिएको मूल्यको नयाँ रणनीतिले प्रतिस्पर्धीहरुलाई पनि अफ्ठ्यारो हुने देखिन्छ । बजारको लिडरले नै चल्तीका मोडलमा ५ प्रतिशतभन्दा पनि कम मूल्य वृद्धि गरेसँगै अरुले पनि यसैलाई पछ्याउने देखिन्छ ।


