काठमाडौं । डोङफेङ मोटर्स नामी-०१ दुई ब्याट्री अप्सनमा आउने भएको छ । नामीको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धि मोटोकर्पले ३१.४ र ४२.३ किलोवाट आवरको ब्याट्री अप्सनमा नेपाल ल्याएको हो ।
यी दुबै ब्याट्री अप्सनमा उपलब्ध नामी ह्याचव्याकको मूल्य अनुमान भन्दा निकै कम राखिएको छ । कम्पनीले प्रकाशित गरेको अधिकतम खुद्रा मूल्यसूची अनुसार ३१.४ किलोवाट आवर क्षमताको ब्याट्री भएको भेरियन्टको मूल्य ३२ लाख ९९ हजार र ४२.३ किलोवाट आवर क्षमताको ब्याट्री भएको मोडलको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यसअघि नै एक यूनिट नामी-०१ नेपाल ल्याएर विभिन्न भेगमा यसको परीक्षण गरेको कम्पनीले नाडा अटो शो २०२४ बाट यसको बिक्री सुरु गर्न लागेको हो ।
प्रिमियम इलेक्ट्रीक ह्याचब्याक नामी-०१ को लम्बाई ४०३० एमएम, चौडाई १८१० एमएम र उचाई १५७० एमएम छ । यसमा २६६० लामो एमएम ह्वीलवेस दिइएको छ । यसमा १७ इन्चको ह्वील र १७५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहेको कम्पनीको दावी छ ।
लिथियम आइरन फस्फेट ब्याट्री प्याकसँग पीकपावर ७० किलोवाटको इलेक्ट्रीक मोटर दुबै भेरियन्टमा दिइएको छ । यसको रेन्ज ३०० देखि ४०० किलोमिटरसम्म रहने छ । डिसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
डोङफेङ नामी-०१ ह्याचव्याक कारमा फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, सेल्फ पार्किङ जस्ता सेग्मेन्ट फस्ट फिचरहरू छन् । यो ईभीको ड्यासबोर्डमा ५ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल, १२.८ इन्चको सेन्ट्रल स्क्रीन छ । जुन मोबाइल रिमोट कन्ट्रोल र ओभर-द-एयर अपडेट फिचर सहितको हो । यसमा स्पोर्टी टु-स्पोक मल्टी-फङ्सनल स्टेयरिङ ह्वील छ ।
दुई वटा मात्रै एयरव्याग भएको कारमा एडास २.० फिचर पाउन सकिन्छ । साथै, ३६० डिग्री क्यामरा, पार्किङ सेन्सर लगायतका फिचर छन् ।

