काठमाडौं । विद्युतीय कारको बिक्री बढ्दै गएसँगै उत्पादक ब्राण्डको पोजिसन पनि फरक हुन थालेको छ । बीवाइडीले सन् २०२४ को जुन महिनादेखि नै विश्वका ठूला भनिने फक्सवागेन, होन्डा, फोर्ड, हुन्डाई जस्ता कम्पनीलाई कडा टक्कर दिन थालेको देखिन्छ ।
सन् २०२४ को जनवरीदेखि जुलाइसम्मको समग्र बिक्रीमा टप टेन कम्पनी भित्र बीवाइडी मात्रै एक्लो न्यू इनर्जी भेहिकल निर्माता हो । त्यसबाहेक अन्य ब्राण्डहरू पहिलेदेखि कै ठूला कार निर्माता मानिँदै आएका छन् ।
जुलाइ महिनाको बिक्री तथ्यांक अनुसार बीवाइडी विश्कै तेस्रो ठूलो कार निर्माता भइसकेको छ । कम्पनीले जुलाइमा ३ लाख १५ हजार ६०० युनिट कार बिक्री गरेको थियो । जबकि, दोस्रो स्थानको फक्सवागेनभन्दा बीवाइडी केबल ३० हजार युनिटले पछाडि परेको हो । बीवाइडीले अगष्ट महिनामा रेकर्ड ३ लाख ७३ हजार ८३ युनिट कार बिक्री गर्दै अन्य ब्राण्डलाई ठूलो चुनौती पेश गरेको हो ।
कसले कति बेचे ?
सर्वाधिक कार बिक्री गर्ने १० कम्पनीको सूचीमा १० औं स्थानमा सेभ्रोलेट रहेको छ । अमेरिकी कार निर्माता कम्पनीले चालु वर्षको ७ महिनामा १४ लाख ७ हजार ८०० युनिट कार बिक्री गरेको छ ।
कोरियन कार निर्माता किया सूचीको नवौं स्थानमा छ । कियाले यस अवधिमा १४ लाख ८४ हजार युनिट कार बिक्री गर्दा आठौं स्थानमा रहेको बीवाइडीले १७ लाख १४ हजार १०० युनिट कार बेच्न सफल भएको हो । बीवाइडी टप १० कार निर्माताको सूचीमा पहिलो पटक अटाएको हो ।

सातौं स्थानमा जापानी ब्राण्ड निसान रहेको छ । उसले ७ महिनामा १७ लाख २१ हजार ७०० युनिट कार बेच्न सफल भएको हो । सूचीको छैटौं स्थानमा अर्को जापानी ब्राण्ड सुजुकी रहेको छ । कम्पनीले यस अवधिमा १७ लाख ७० हजार युनिट कार बिक्री गरेको हो ।
कोरियन अटो जाइन्ट हुन्डाईले १८ लाख ७९ हजार ९०० युनिट कार बिक्री गर्दै आफूलाई टप फाइभ ब्राण्ड भित्र उभ्याउँदा अमेरिकी कम्पनी फोर्डले २० लाख ३७ हजार ३०० युनिट कार बिक्री गरेको छ ।
जापानी ब्राण्ड होण्डाले २० लाख ७८ हजार २०० युनिट गाडी बिक्री गर्दै आफूलाई तेस्रो स्थानमा राख्दा जर्मन ब्राण्ड फक्सवागेन २६ लाख १३ हजार ६०० युनिट सहित दोस्रो स्थानमा सुरक्षीत रहेको छ ।
जापानी ब्राण्ड टोयोटाले प्रतिस्पर्धीहरूभन्दा निकै धेरै कार बिक्री गरेको छ । कम्पनीले यस अवधिमा ४५ लाख ९४ हजार युनिट कार बिक्री गर्न सफल भएको हो ।

