काठमाडौं । विद्युतीय सवारीसाधन लिएर तपाई दशैंमा लामो यात्रा गर्दा केही कुरा विचार गर्नु पर्ने देखिएको छ । दशैंमा धेरै मानिसले उपत्यका बाहिर यात्रा गर्ने भएको कारण विद्युतीय कार लिएर यात्रा गर्ने चालकले विशेष ध्यान दिन जरुरी हुन्छ ।
विगतका वर्षमा थोरै मात्र विद्युतीय कार हुँदा पनि चार्जिङ सेन्टरमा निकै लामो लाइन लाग्ने गरेको थियो । तर, अहिले मेन स्ट्रीममा नै विद्युतीय गाडी बिक्री भएको कारण चार्जिङमा थप चुनौति भने पक्कै हुनेछ ।
सामान्य समयमा हाम्रा हाइवेमा जडान भएका चार्जरले ईभीको यात्रालाई निकै सहज बनाएको छ । तर, दशैंको समयमा नवरथाको ८ दिन धेरै मानिसले आवतजावत गर्ने भएको कारण चार्जिङ सेन्टरमा धेरै भिडभाड हुनु स्वाभाविक हो ।
यदि, तपाई पनि विद्युतीय कार लिएर दशैंमा यात्रा गर्दै हुनुहुन्छ भने सुरुमा कारलाई आफ्नो घरबाटै १०० प्रतिशत चार्ज गरेर हिड्नु होला । घरबाट निस्कदाँ अनिर्वाय रुपमा ३ किलोवाटको एसी चार्जर साथमा बोक्नु होला ।

घरबाट निस्कदा तपाईले यात्रा गर्ने बाटोमा कहाँ कहाँ पब्लिक फास्ट चार्जर छ भन्ने कुरा एकिन गर्नु होला । तपाईको गाडी दिने रेन्ज र यात्रा गर्नु पर्ने दुरी अनुसार चार्जिङ गर्ने स्थान पहिल्यै पहिचान गर्नु उपयुक्त हुन्छ । चार्जिङ स्टेशनमा लामो लाइन छ तर, यहाँ वरपर होटल लगायतका स्थान छन् भने तपाई आफुसँग भएको चार्जर प्रयोग गरेर भएपनि गाडी चार्जमा हाल्नु होला ।

लामो यात्रामा तपाई निस्कदै हुनुहुन्छ भने बीच बाटोमा रहेका डीसी चार्जरमा १०० प्रतिशत चार्ज बनाउन लाग्दै नलाग्नु होस् । यदि, तपाईले १०० प्रतिशत चार्ज गर्न थाल्नु भयो भने अर्को गाडीलाई १० देखि ८० प्रतिशत चार्ज गर्न लाग्ने समय तपाईले २० प्रतिशत चार्ज थप्न लाग्नेछ । त्यसले चार्जिङमा निकै ठूलो समस्या निम्त्याउने छ ।


