काठमाडौं । कोरियन ब्राण्ड कियाले आफ्नो इलेक्ट्रीक लाइनअपमा सबैभन्दा सस्तो एसयूभी ‘ईभी-टु’ ल्याउने भएको छ । कम्पनीले सन् २०२६ बाट बिक्री सुरु गर्ने योजना बनाएको ईभी-टु माइक्रो एसयूभी हुने भएको हो ।
हुन्डाईले केही अगाडि बजारमा उतारेको इन्टर ईभीबाट प्रेरित रहेर बन्ने ईभी-टु प्रिमियम फिचरले भरिपूर्ण हुनेछ । ईभी-थ्री देखि ईभी-नाइनसम्मको लामो इलेक्ट्रीक लाइनअप तयार पारेको कम्पनीको सबैभन्दा सस्तो एसयूभी यहि हुनेछ ।
कियाले आफ्नो सबैभन्दा कम मूल्यमा ल्याउने नयाँ मोडलको डिजाइन ईभी-नाइन र ईभी-थ्रीबाट प्रेरित रहेर ल्याउने छ । यसको अगाडि दिइने लाइट क्लस्टरमा सिकल सेपको सिग्नेचर लाइट तथा स्क्वायर सेपको हुड रहेने छ । त्यसको ठिक माथि भर्टिकल विण्डस्कृन रहेने छ । यो ईभीको लम्बाई ४ मिटरभन्दा कम रहनेछ ।
किया ईभी-टु मा एलएफपी केमेस्ट्री भएको ४२ किलोवाट आवर र एनएमसी केमेस्ट्री भएको ६२ किलोवाट अवारको ब्याट्री अप्सन रहनेछ । जसको डब्लुएलटीपी रेन्ज क्रमश ३०० देखि ४४० किलोमिटरसम्म हुनेछ ।
कम्पनीले सुरुवातमा युरोपीयन बजारका लागि डिजाइन गरेको ईभी-टु ग्लोबल मोडल हुनेछ ।


