कहिले पाउँछन् ‘लिप सी-१०’ बुकिङ गरेका ग्राहकले गाडी ?

काठमाडौं । नाडा अटो शोमा लन्च भएको लिप सी-१० बुकिङ गरेर बसेका ग्राहकले आगामी साताबाट गाडी पाउने भएका छन् । लिप मोटरको कम्प्याक्ट एसयूभी सी-१० अटो शोमा राम्रो संख्यामा बुकिङ भएको मोडल हो ।

लिप मोटरको आधिकारीक बितरक साँग्रिला मोटर्सले केहि दिन अगाडि नै सी-१० मोडल चीनबाट नेपालका लागि हिडिसकेको जानकारी दियो । पहिलो चरणमा १०० यूनिट लिप सी-१० नेपाल आइरहेको कम्पनीको भनाई छ ।

नाडा अटो शोमा बुकिङ लिँदा नै अक्टोबरको पहिलो सातासम्म गाडी दिने कम्पनीले जनाएको थियो । त्यहि अनुसार गाडी दिने तयारी भइरहेको साँग्रिला मोटर्सका जनरल मेनेजर किरण श्रेष्ठले बताए ।

‘अहिले बुकिङ गरेका ग्राहकहरुलाई धमाधम टेष्ट ड्राइभ गराउने र बैंकिङ प्रक्रिया पुरा गर्न लगाउने काम भइरहेको छ । सबै प्रक्रिया पुरा गर्ने ग्राहकलाई हामी दशैंभर गाडी दिन्छौं’, श्रेष्ठले भने ।

यस्तो छ लिपको सी-१०

‘मोर देन पावरफुल’ नारासहित सार्वजनिक भएको सी-१० मोडल निकै बलियो बडी स्ट्रक्चर भएको मोडल हो । यसले यूरो एनक्यापमा ५ स्टार रेटिङ पाएको छ ।

फिचरहरुको लामो लिष्ट उपलब्ध एसयूभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ४३५ लिटरको बुट स्पेश र २८२५ एमएम लामो ह्वील वेस दिइएको छ ।

एक्सटेरियरमा क्लोज अफ ग्रिल, एलइडी हेडलाइट, डे टाइम रनिङ लाइट, रुफरेल, पानारोमिक शनरुफ, पावर टेलगेट, रियर प्राइभेसी ग्लास, हिडन डोर ह्याण्डल दिइएको छ ।

यसको भित्र सफ्टटच मेटेरियरल प्रयोग गरेर बनाइएको ड्यासबोर्ड, चालकको हाइट अनुसार ४ तरिकाले मिलाउन मिल्ने स्टेरिङ, हिडन एसी भेन्ट, हिटेड र भेन्टिलेटेड सिट, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, एम्बीयन्ट लाइट, हिटेड स्टेरिङ जस्ता प्रिमियम फिचर छन् ।

१०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले र १४.६ इन्चको सेन्ट्रल टच स्कृन दिइएको एसयूभीमा वायरलेस चार्जर, १२ स्पीकर, इन्टेलिजेन्ट ड्राइभर एसिस्ट सिस्टम दिइएको छ । यस भित्र झण्डै दुई दर्जन सेफ्टी फिचर छन् ।

लिप मोटर्सले यसमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले प्रमाणित गरेको छ । गाडीमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।


Back_to_top