चिनियाँ ब्राण्ड लिप मोटर्सले बी-१० नामक एसयूभी अन्तर्राष्ट्रिय बजारको लागि उत्पादन गर्ने भएको छ । स्टेलान्टीस समूहको लगानी रहेको लिप मोटर्स इन्टरनेशनलले यूरोप लगायतको बजारमा पठाउन नयाँ क्रसओभर मोडल ल्याउने भएको हो ।
लिप मोटर्सको सी-१० र टी-०३ अन्तर्राष्ट्रिय बजारमा निर्यात भइरहेको छ । नेपालमा पनि नाडा अटो शो २०२४ मा सी-१० एसयूभी सार्वजनिक भएको थियो । अहिले बुकिङ लिइरहेको सी-१० केही दिन भित्रै ग्राहकलाई दिने तयारीमा आधिकारीक बिक्रेता साँग्रिला मोटर्स रहेको छ ।
नयाँ बी-१० मोडल कम्पनीको नयाँ बी प्लेटफर्ममा बनेको हो । यसलाई कम्पनीले लिप मोडुलर आर्किटेक्चर भनेको छ । यूरोपमा परीक्षणमा देखिएको नयाँ मोडल पुरै ढाकेको अवस्थामा देखिएको छ । सर्कुलर हेडल्याम्पमा देखिएको बी-१० मा एलइडी डिआरएल पनि देखिएको छ ।
अहिले अल इलेक्ट्रीक मोडल भनिएको बी-१० को पछाडि दिइएको दुई फ्यूल क्यापको कारण यसलाई कम्पनीले हाइब्रिडमा पनि ल्याउन सक्ने जनाएको छ । नयाँ क्रसओभर मोडलका विषयमा अहिलेसम्म कम्पनीले आधिकारीक फिचरहरुको घोषणा गरेको छैन ।

