कतिमा झर्ला इलेक्ट्रीक गाडीमा लाग्ने ब्याट्रीको मूल्य ?

काठमाडौं । गोल्डम्यान स्याचले प्रकाशित गरेको रिपोर्टका अनुसार सन् २०२६ मा प्रतिकिलोवाट आवर ब्याट्रीको मूल्य ८० अमेरिकी डलरमा झर्नेछ । ब्याट्रीको मूल्यमा गिरावट त्यतिमा रोकिने छैन । सन् २०३० मा पुग्दा प्रतिकिलोवाट आवर ब्याट्रीको मूल्य ६० डलर आसपास पुग्नेछ ।

गोल्डम्यान स्याच रिसर्च एजेन्सीका एशिया प्यासेफिक नेचुलर रिसोर्स एण्ड क्लीन इनर्जीका को–हेड निखिल भण्डारीका अनुसार अब धेरै मानिसले कसरी विद्युतीय गाडीको ब्याट्री घट्दैजान्छ भन्ने बुझ्न थालेका छन् । त्यसैको आधारमा विद्युतीय कारको माग र प्रयोग भरपर्छ ।

किन यसरी ब्याट्रीको मूल्य घट्दैछ भन्ने विषयमा भण्डारी भन्छन्, ‘त्यसमा मुख्य दुई कारण देखिन्छ । पहिलो नयाँ–नयाँ अध्ययन र आविष्कार हो । अहिले विश्वभर ब्याट्रीमा नयाँ खोजहरु तिब्रगतिमा अगाडि बढेका छन् । लिथियमको तुलनामा ३० प्रतिशत बढी इनर्जी डेनसिटी भएका ब्याट्री सस्तो मूल्यमा आउन थालेका छन् । दोस्रो लिथियम ब्याट्रीको लागि आवश्यक लिथियम र कोवाल्टको मूल्य निरन्तर घट्नु हो । यी दुई बस्तुको लागत एउटा ब्याट्री तयार गर्दा ६० प्रतिशत हुन्छ ।’

अहिले गाडी निर्माताहरुले प्रयोग गरिरहेको ब्याट्री एनसीएम र एलएफपी हो । यी दुबै ब्याट्री लिथियममा आधारित छन् । निकेल केमेस्ट्रीको प्रयोग ६० प्रतिशत विद्युतीय गाडीमा भइरहेको छ । एलएफपी ब्याट्री अहिले ३५ देखि ४० प्रतिशत गाडीमा भइरहेको छ । सोलिड स्टेट टेक्नोलोजीमा बनेको ब्याट्रीले खासै बजार लिन सकेको छैन ।

सन् २०२६ बाट बजारमा आउने सोडियम आयोन ब्याट्रीले बजारमा प्रबेश गर्ने वित्तिमै ५ देखि १० प्रतिशत बजार हिस्सा लिने अनुमान गरिएको छ । सन् २०२५ मा एलएफपी ब्याट्रीको बजार हिस्सा बढ्ने तथापि एनसीएम ब्याट्रीनै लिडर रहने गोल्डम्यान स्याचको अध्ययनले देखाएको हो ।

सोडियम आयोन पनि मूल्यका हिसावले निकै राम्रो हुने अध्ययनले देखाएको छ । जे होस् उपभोक्ताले हरेक वर्ष कम मूल्य विद्युतीय गाडी पाउने छन् ।


Back_to_top