एसएआईसीलाई पछाडि पार्दै बीवाइडी बन्यो चीनको ठूलो कार उत्पादक

काठमाडौं । विश्वकै ठूलो कार बजार चीनमा एकछत्र राज गर्दै आएको एसएआईसी ग्रुप पछाडि धकेलिएको छ । एसएआईसी ग्रुप चिनियाँ सरकारी स्वामित्वको कार उत्पादक कम्पनी हो ।

विश्वका ठूला कार निर्माता फक्सवागेन, जनरल मोटर्स र विलिङमा संयुक्त लगानी गरेको एसएआईसीसँग एमजी र मेक्सस जस्ता ब्राण्ड एकल स्वामित्वमा रहेको छ ।

सबै ब्राण्डको उत्पादन र बिक्री मिलाएर पहिलो स्थानमा रहेको एसएआईसी समूहलाई बीवाइडीले उछिनेको हो ।

बीवाइडी ग्रुपसँग पनि अहिले डेन्जा, फाङचाङ बाओ र याङवाङ ब्राण्ड छन् । यी सबै ब्राण्डको बिक्री मिलाएर बीवाइडीले एसएआईसीलाई उछिनेको हो ।

जनवरी २०२४ देखि सेप्टेम्बरसम्ममा बीवाइडीले सबै ब्राण्ड मिलाएर २७ लाख ४७ हजार ८७५ यूनिट कार बिक्री गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३२.१३ प्रतिशतले वृद्धि हो । पहिलो पटक बीवाइडीले सेप्टेम्बरमा एकै महिनामा ४ लाख १९ हजार ४२६ यूनिट कार बिक्री गरेर आफुलाई चीनमा लिडर बनाएको हो ।

उता एसएआईसी ग्रुपले सेप्टेम्बरमा ३५ प्रतिशतले बजार गुमाएर ३ लाख १३ हजार यूनिट मात्रै कार बिक्री गरेको छ । उसले सन् २०२४ को सेप्टेम्बरसम्मा २६ लाख ४९ हजार ३३३ यूनिट कार बिक्री गरेको छ । उसको समग्र बिक्रीमा २१.५ प्रतिशतले गिरावट आएको हो ।


Back_to_top