काठमाडौं । अहिले बजारमा चल्तीका ५ एसयूभीमा धेरै विद्युतीय मोडल छन् । बीवाइडी एटो-थ्री, हुन्डाई क्रेटा, ओमोडा ई-५, दीपल एस-०७, एमजी जेडएस ईभी र टाटा पन्च चल्तीका एसयूभी हुन् ।
अझ चीनबाट आयात हुने जेको जे-६, लिप मोटर्सको सी-१० जस्ता एसयूभीले सप्लाई भएको भए उत्कृष्ट व्यापार गर्थे होला । तर, चीनबाट आउने सडक बन्द हुँदा ती गाडी नेपाल प्रवेश गर्न पाएका छैनन् ।
यी मोडल बाहेक पनि सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, महिन्द्रा स्कर्पियो जस्ता मोडलको बिक्री राम्रो संख्यामा भइरहेको छ । बढ्दो विद्युतीय कारको क्रेजमा यी गाडीहरू छाँयामा परेका छन् । त्यसैले बजारमा चल्तीको एसयूभीहरू व्यक्तिले किन्दा पर्ने मासिक किस्ताका बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।
यहाँ चर्चा भएका सबै एसयूभीको इन्ट्री भेरियन्टको मूल्यलाई आधार मानेर हामीले मासिक किस्ता निकालेका छौं । साथै, हिसाब गर्ने तरिका पनि एउटै छ । ७ वर्षको लागि कर्जा सुविधा लिँदा अहिले लाग्ने वार्षिक ८.५ प्रतिशत स्थिर (फिक्स्ड) ब्याजदरलाई आधार मानेर हिसाब गरिएको हो ।
एटो-थ्री एड्भान्स
बीवाइडी एटो-थ्री एड्भान्स मोडलको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । एटो-थ्री विद्युतीय गाडी भएको कारण मूल्यको २० प्रतिशत रकम मात्रै डाउन पेमेन्ट गर्दा पुग्छ ।

एटो-थ्री एड्भान्स मोडल किन्दा सुरूमा डाउन पेमेन्ट बापत ११ लाख ३८ हजार रुपैयाँ तिर्दा पुग्छ । बाँकी ४५ लाख ५२ हजार रुपैयाँ कर्जा लिनुपर्छ । यसरी लिएको कर्जा मासिक ७२ हजार १०० रुपैयाँका दरले ७ वर्षसम्म तिर्नु पर्ने हुन्छ ।
१०० किलोवाटको मोटर र ५० किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग भएको एटो-थ्रीले सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज दिने आधिकारिक बिक्रेता साइमेक्स इंकले दाबी गरेको छ ।
ओमोडा ई-५
ओमोडा ई-५ को इन्ट्री भेरियन्ट डिलक्सको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा कम्पनीले १ लाख रुपैयाँ अहिले छुट दिइरहेको छ । यस्तोमा ओमोडा ई-५ किन्न चाहनेले मूल्यको २० प्रतिशतले हुन आउने १० लाख ९९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट बापत बुझाउनु पर्छ । बाँकी रकम ७ वर्षसम्म मासिक ६९ हजार ७०० रुपैयाँका दरले तिर्दा पुग्छ ।

ओमोडा ई-५ मा पनि एलएफपी ब्याट्री छ । तर, यसको साइज भने ६१ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । सिंगल चार्जमा यसले ४३० किलोमिटर रेन्ज दिने आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले दाबी गरेको छ ।
हुन्डाई क्रेटा
हुन्डाई क्रेटा फेसलिफ्ट बजारमा आएसँगै यसले निकै राम्रो व्यापार गरिरहेको छ । विद्युतीय गाडीको मात्रै चर्चा चलिरहेको समयमा आएर पेट्रोल इन्जिन भएको क्रेटाले राम्रो चर्चा पायो । क्रेटा ई भेरियन्टको मूल्य ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ क्रेटामा १ लाख रुपैयाँ नगद छुट दिँदै आएको छ । पेट्रोल कारमा डाउन पेमेन्ट ५० प्रतिशत राख्नुपर्ने भएको कारण क्रेटा किन्नेले मूल्यको ५० प्रतिशतले हुन आउने २७ लाख ४८ हजार रुपैयाँ सुरूमै बुझाउनु पर्छ । बाँकी रकम ७ वर्षमा ४३ हजार ५०० रुपैयाँका दरले किस्ता तिर्दा पुग्छ ।
हुन्डाई क्रेटा फेसलिफ्ट १.५ लिटर पेट्रोल इन्जिनमा मात्रै उपलब्ध छ । यसले प्रतिलिटर १० देखि १२ किलोमिटर हाराहारी माइलेज प्रदान गर्छ ।
एजी जेडएस ईभी
दशैं अगाडि ६ लाख रुपैयाँ डिस्काउन्ट गरेर ४६ लाख ९९ हजारमा बिक्री गरेको एमजी जेडएस ईभी नेपालमा सहावहार सफल मोडल हो । सन् २०१९ देखि निरन्तर नेपालमा उपलब्ध जेडएस ईभी किन्नेले ९ लाख ३९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्छ । बाँकी रकम ३७ लाख ५९ हजार २०० रुपैयाँ कर्जा लिएर ७ वर्षसम्म मासिक ५९ हजार ५४० रुपैयाँ हाराहारी किस्ता तिर्दा पुग्छ ।

एमजी जेडएस ईभीमा ५१ किलोवाट आवरको एनसीएम ब्याट्री उपलब्ध छ । यसले सिंगल चार्जमा ३३० किलोमिटर रेन्ज दिनेछ । यसमा मोटर ९९ किलोवाटको छ ।
दीपल एस-०७
आफ्नो आकर्षक डिजाइन र आधुनिक फिचरको कारण सर्वाधिक छिटो सफलताको स्वाद चाखेको दीपल एस-०७ को छुटसहितको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ छ । यसलाई किन्न चाहनेले १४ लाख ३८ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ । बाँकी ५७ लाख ५९ हजार २०० रुपैयाँ ७ वर्षमा मारिक ९१ हजार २०० रुपैयाँका दरले तिर्न सकिन्छ ।

दीपल एस-०७ मा पनि ९९ किलोवाट क्षमताको मोटर उपलब्ध छ । साथै, यसमा रहेको ६६.८ किलोवाट आवरको टर्नरी ब्याट्रीले ४०० किलोमिटर माथि रेन्ज दिन्छ ।
टाटा पन्च ईभी
मूल्यले सबैभन्दा सस्तो पन्च ईभी नेपाल आएको छोटो समयमा सफल भएको एसयूभी हो । माइक्रो एसयूभी सेग्मेन्टमा टाटाले बजारमा उतारेको पन्च ईभीको सुरूआती भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ मात्रै छ ।

पन्च ईभीको इन्ट्री भेरियन्ट किन्ने व्यक्तिले ६ लाख ७९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ । साथै, यसको कर्जा रकम भने २७ लाख १९ हजार २०० रुपैयाँ हुन आउँछ । उक्त रकम ७ वर्षसम्म मासिक ४३ हजार रुपैयाँका दरले तिर्न सकिन्छ ।
पन्च ईभीको यो भेरियन्टमा २५ किलोवाट आवरको ब्याट्री र ५५ किलोवाटको मोटर उपलब्ध छ ।

