हाइब्रिड टेक्नोलोजीमा ३ चिनियाँ कम्पनी कडा प्रतिस्पर्धामा, के होला ईभीको भविष्य ?

काठमाडौं । न्यू इनर्जी भेहिकलको ‘डाइनामिक्स’ परिवर्तन हुँदै गएको छ । सन् २०१० देखि २०२३ सम्म ईभी उत्पादनमा फोकस भएका चिनियाँ कार उत्पादकहरु अब हाइब्रिडमा सर्न थालेका छन् ।

सन् २०२२ देखि बढ्दै गएको हाइब्रिड कारको बिक्रीले तिब्र गति लिएसँगै कम्पनीहरु हाइब्रिड टेक्नोलोजीमा केन्द्रित भएका हुन् । विशेषगरी चिनियाँ ठूलो कार निर्माता बीवाइडी, पुरानो अटोमोवाइल जाइन्ट जिली र एसएआइसी ग्रुपले हाइब्रिड टेक्नोलोजीमा आफुलाई केन्द्रित गरेका हुन् ।

सर्वाधिक हाइब्रिड कार बिक्री गर्ने बीवाइडीले पछिल्लो समय २ हजार २०० किलोमिटरसम्म रेन्ज दिने डिएमआई ५.० हाइब्रिड टेक्नोलोजी प्रयोग गरिरहेको छ । उसले आफ्ना सहायक ब्राण्डहरुमा पनि यही हाइब्रिड टेक्नोलोजी प्रयोग गर्दै आएको छ ।

सन् २०२३ सम्म ५०/५० प्रतिशत ईभी र हाइब्रिड कार बिक्री गर्दै आएको कम्पनीले सन् २०२४ को १० महिनामा हाइब्रिडको हिस्सा ६२ प्रतिशत पुर्याएको छ ।

जिली ग्रुपले केही दिनअघि मात्रै ‘न्यू नोडथोर २.० सिस्टम’ सार्वजनिक गरेको थियो । यसलाई कम्पनीले आफ्नो विभिन्न सहायक ब्राण्डका उत्पादनमा प्रयोग गर्न थालेको छ । कम्पनीले ल्याएको नयाँ नोडथोर सिस्टमले २ हजार किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

अर्को चिनियाँ अटोमोवाइल जाइन्ट एसएआईसी ग्रुपले पनि डीएमएच हाइब्रिड टेक्नोलोजी प्रयोग गर्दै आएको छ । एसएआईसीले प्रयोगमा ल्याएको हाइब्रिड टेक्नोलोजीको रेन्ज १ हजार ५०० किलोमिटर रहेको कम्पनीको दावी छ ।

यी तीन ब्राण्ड बाहेक चेरी, चांगान र डोङफेङ जस्ता ब्राण्डले हाइब्रिड टेक्नोलोजीमा आफुलाई तिब्र गतिमा अगाडि बढाएका छन् । यी ब्राण्डले प्लगइन हाइब्रिड, रेन्ज एक्सटेन्डर टेक्नोलोजी वा इआरइभी कुनै नाम दिएर गाडी ल्याएका छन् । यी गाडी थोरै किलोमिटर ब्याट्रीमा भएको चार्ज र धेरै किलोमिटर पेट्रोलले इन्जिनलाई चलाएर ब्याट्री चार्ज गर्दै गाडी चलाउन मिल्ने किसिमका छन् ।

ईभीमय बन्दै गएको चिनियाँ बजारमा अचानक हाइब्रिड टेक्नोलोजीको उत्पादन र प्रयोग बढ्दा आगामी बजार कता जान्छ, अहिल्यै एकिन गर्न कठिन हुने अवस्थामा पुगेको छ । जे होस् नयाँ इनर्जी भेहिकलको उत्पादन र बिक्री बढ्दा विश्वभर पेट्रोलियम पदार्थको प्रयोगमा भने ब्यापक कटौती हुने देखिन्छ ।


Back_to_top