निशानले आफ्नो नयाँ कम्प्याक एसयूभी किक्सलाई २०१९ को जनवरी २२ मा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ । यसअघि डिसेम्बरमा नै मुम्बाईमा एक कार्यक्रम आयोजना गर्दै निशान इन्डियाले मिडियामा भने यो एसयूभी सार्वजनिक गरिसकेको थियो ।
कम्पनीको नयाँ एसयूभी रेनो डस्टरको प्ल्याटफर्ममा निर्माण गरिएको हो । यसको लम्बाई र ह्वीलवेश पनि रेनो–डस्टरको जस्तै रहेको छ ।
पाँच–सिट क्षमताको यस एसयूभीमा ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टमका दिइएको छ भने यसमा ३८० डिग्रि क्यामेरा प्रयोग गरिएको जनाइएको छ । यो गाडी पेट्रोल र डिजल दुवै भर्सनमा उपलब्ध हुनेछ ।
पेट्रोल भर्सनमा १.५ लिटरको इन्जिन दिइएको छ, जसले १०४ बीएचपी पावर प्रदान गर्नेछ भने फाइभ–स्पीडको सीभीटीसहितको म्यानूअल गियरबक्स दिइएको छ । डिजल भर्सनमा पनि १.५ लिटरको इन्जिन रहनेछ, जसले १०८ बीएचपी पावर उत्पादन गर्नेछ । यसमा सिक्स–स्पीडको म्यानूअल ट्रान्समिसन रहनेछ ।
यसको भारतीय बजारको मूल्य ९ लाख ५० हजार देखि १५ लाखसम्म हुने अनुमान गरिएको छ । नेपालको लागि निशानको आधिकारीक वितरक पायोनियर मोटर्सले भारतमा लञ्च भएको केही दिनपछि नै नेपाली बजारमा सार्वजनिक गर्ने जनाएको छ ।


