काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा पेट्रोलियम पदार्थबाट चल्ने सब फोर मिटर एसयूभीको आयात ५ सय यूनिट हाराहारी छ । विद्युतीय कारको भिडमा सब फोर मिटर एसयूभीको उक्त संख्याको आयातलाई राम्रै मान्नुपर्छ ।
ह्याचव्याक कारले बजार गुमाउँदै जाँदा ४ मिटरसम्म लम्बाई भएका साना कम्प्याक्ट एसयूभीको माग बढेको देखिन्छ । चालु आर्थिक वर्षको साउन, भदौ र असोजको तीन महिनामा विभिन्न कम्पनीले ४९२ युनिट चार मिटरभन्दा छोटा एसयूभी ल्याएका छन् ।
यसरी आयात गर्ने कम्पनीमा सिजी मोटोकर्पले नेपाल ल्याइरहेको मारुती सुजुकी ब्रेजा सबैभन्दा धेरै आयात भएको छ । चालु आवको साउनदेखि असोजसम्म २१८ युनिट ब्रेजा आयात भएको भन्सार तथ्यांकमा उल्लेख छ । आयातको आधारमा मारुती सुजुकी ब्रेजाले सेग्मेन्टमा ४४.३० प्रतिशत हिस्सा ओगटेको छ ।
यही सेग्मेन्टमा दोस्रो स्थान नेपालमै एसेम्बल हुन थालेको हुन्डाई भेन्यूले लिएको छ । चालु आवको ३ महिनामा १४० युनिट हुन्डाई भेन्यू आयात भएको देखिन्छ । जसमा १३५ युनिट सिकेडी र ५ युनिट सीयुबी आयात भएको छ । हुन्डाई भेन्यूको बजार हिस्सा २८.४५ प्रतिशत छ ।
तेस्रो स्थानमा किया सोनेटले लिएको छ । किया सोनेट चालु आवको ३ महिनामा ११८ युनिट आयात भएको देखिन्छ । किया सोनेटको बजार हिस्सा २३.९८ प्रतिशत देखिन्छ ।
सानो कम्प्याक्ट एसयूभीमा निसानको म्याग्नाइट १० युनिट आयात भएको छ । निसानको बजार हिस्सा २.०३ प्रतिशत छ । यही सेग्मेन्टमा टोयोटाले रेज ४ युनिट ल्याएको छ । महिन्द्राले थ्रीएक्सओ २ युनिट आयात गरेको छ ।
यही सेग्मेन्टमा गत वर्ष सबैभन्दा धेरै बजार हिस्सा ओगटेको टाटा नेक्सन चालु आवको तीन महिनामा एक यूनिट पनि आयात भएको देखिदैन । टाटाको इलेक्ट्रीक, पेट्रोल र डिजेल कुनै पनि भर्सनमा नेक्सन आयात भएको छैन ।
त्यस्तै यही सेग्मेन्टमा उपलब्ध रेनो काइगर पनि आयात भएको छैन ।

