काठमाडौं । नेपालमा विद्युतीय कारको बटो पहिल्याउने पहिलो ब्राण्ड महिन्द्रा हो भन्दा फरक पर्दैन । सन् २०१० ताका नै इटुओ मोडल बजारमा ल्याएर ईभीको प्रयोगलाई ब्यापक बनाउने बाटो पहिल्याएको महिन्द्रा गतिलो कम्ब्याकको खोजीमा छ ।
भारतमा बिक्री थालेको झण्डै २ वर्षपछि सन् २०२४ मा नेपाल ल्याएको एक्सयूभी-४०० ले सोचेअनुसारको बिक्री पाउन सकेन । कम्पनीको पहिलो एसयूभी मोडललाई ईटुओको लिगेसीले काम नै गरेन भन्दा हुन्छ । त्यसो हुनुमा एउटा मात्रै पक्षले काम गरेको छैन ।

अग्नी इनकर्पोरेट प्रालिले नेपाल ल्याएको एक्सयूभी-४०० ले ब्यापार चर्चा दुबै पाउन सकेन । त्यसको पछाडिको मुख्य कारण मूल्य हो । चीनबाट आयात भएका अधिकांश इलेक्ट्रीक कारमा ठूलो ब्याट्री, धेरै रेन्ज, आधुनिक फिचर र कम मूल्य विशेषता बन्दा महिन्द्राको एक्सयूभी ४०० ठ्याक्कै उल्टो बन्यो ।
एक्सयूभी ४०० लाई ११० किलोवाटको मोटरमा ल्याएको कारण कर धेरै तिर्नु पर्ने भयो । जसको कारण मूल्य नै ५२ लाख ५० हजार पुग्यो । त्यसमा चिनियाँ उत्पादनमा भन्दा कम फिचर भएपछि उपभोक्ताको आकर्षण यसमा रहने कुरै भएन ।

ईटुओले स्थापित गरेको पहिचानलाई जोगाउनै मुस्किल परेको महिन्द्राले अब थप दुई नयाँ मोडल बजार ल्याउने भएको छ । आगामी मंगलबार (नोभेम्बर २६) मा कम्पनीले आफ्नो दुई मोडल बजारमा ल्याउने छ । सुरुमा भारतमा बिक्री हुने यी दुई मोडल नेपाल पनि आउने मोडल हुन् ।
नेपाली बजारमा यी दुई मोडलले कस्तो व्यापार गर्छन्, त्यो भोलिका दिनमा चर्चा गरिने विषय हो । तर, तत्काल यी दुई मोडलले महिन्द्रालाई ईभी बजारमा कम्ब्याक भने गराउने छ ।
यस्ता छन् आउँदै गरेका दुई मोडल ?
दुई दिनपछि सार्वजनिक हुने बीई ६ई र एक्सईभी ९ ई इलेक्ट्रीक एसयूभीका विषयमा धेै जानकारी बाहिर आएका छैनन् । तथापि, यी दुबै मोडलमा दिइएको ब्याट्री साइजका विषयमा भने जानकारी प्राप्त भएको छ ।
महिन्द्राले आफ्ना दुबै एसयूभीमा दुई ब्याट्री अप्सन दिएको छ । बीई ६ ई र एक्सयूभी ९ ई मा ५९ र ७९ किलोवाट आवरको ब्याट्रीप्याक रहने छ । लिथियम आयोन फस्फेट केमेस्ट्री रहेको यो ब्याट्री प्याकले १७५ किलोवाट सम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । महिन्द्राका अनुसार यो ब्याट्री जम्मा २० मिनेटमा २० बाट ८० प्रतिशत चार्ज हुन्छ ।
त्यसैगरी, महिन्द्राले बीई ६ ई र एक्सईभी ९ ई को मोटर पावरको बारेमा पनि जानकारी दिएको छ । उक्त मोटर १७२ र २१३ किलोवाट सम्मको रहनेछ ।
महिन्द्राले यी एसयूभीहरूमा रियर माउण्टेड मोटर दिएको छ भने बीई ६ ई मा भने अलह्वील ड्राइभ अप्सन हुने अनुमान छ । महिन्द्राको यी इलेक्ट्रीक एसयूभीमा फरक ड्राइभ मोड, सेमी एक्टिभ सस्पेन्सन सिस्टम तथा ब्रेक बाई वायर टेक्नलोजी रहने छ ।
यी दुई एसयूभी मार्फत महिन्द्राले आफ्नो गुमेको ताज खोज्ने तयारी गरेको छ । यसमा उपभोक्ताले कति साथ दिन्छन्, त्यसको लागि भने केही महिना कुर्नु पर्ने हुन्छ ।


