कार्तिकमा सवा दुई अर्बको ईभी आयात, साइज अनुसार कुन कति ?

काठमाडौं । कार्तिक महिनामा सवा दुई अर्बको ईभी आयात भएको छ । भन्सार विभागले जारी गरेको तथ्यांक अनुसार कार सेग्मेन्टमा दर्ता हुने ९६९ युनिट ईभी २ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरमा आयात भएको देखिन्छ ।

उक्त आयातबाट भन्सार विन्दुमा उठाउने राजस्व सरकारले १ अर्ब ४५ करोड रुपैयाँ पाएको देखिन्छ । बढ्दो ईभीको आयात अनुसार राजश्वमा पनि केही सुधार हुँदै गएको देखिन्छ ।

असोजमा पहिरोका कारण चिनियाँ नाका बन्द हुँदा रोकिएका ईभी कार्तिकमा नेपाल प्रबेश गरेका छन् । चीनतर्फ झण्डै १ हजार ५०० ईभी रोकिएको दावी ब्यवसायीले गरेपनि बाटो खुल्ला भएसँगै ७४८ युनिट मात्रै नेपाल आएको देखिन्छ ।

यसअवधिमा चीनबाट सबैभन्दा धेरै ५० देखि १०० किलोवाट मोटर क्षमता भएको विद्युतीय कार आयात भएका छन् । यो सेग्मेन्टमा ४७५ युनिट गाडी आयात भएको हो । यही सेग्मेन्टमा बीवाइडी एटो–थ्री, नामी–०१, बीवाइडी डल्फीन, ओमोडा ई–५ जस्ता चल्तीका मोडल पर्छन् ।

भारतबाट भने ५० देखि १०० किलोवाट क्षमताका मोटर जडित इलेक्ट्रीक मोडल ५८ यूनिट आयात भएका छन् । विशेषगरी यो सेग्मेन्टमा टाटा पन्चको आयात धेरै देखिन्छ ।

त्यसैगरी ५० किलोवाटभन्दा कम क्षमताका ईभीको आयात चीनबाट ११४ यूनिट भएको छ । त्यसमा अधिकांश भ्यानको आयात देखिन्छ । साना कार आयातमा चीनबाट भन्दा भारतबाट राम्रो देखिन्छ । कार्तिक महिनामा भारतबाट १६४ युनिट ५० किलोवाटभन्दा कम क्षमताका ईभी आयात भएको छ ।

पहिलो पटक १०१ देखि २०० किलोवाटको सेग्मेन्टमा आयात निकै बढेको देखिन्छ । कार्तिकमा मात्रै १५६ युनिट कार यो सेग्मेन्टमा आएको हो । जेको जे–६, लीप सी–१०, एक्सपेङ जी–६ र जिकर एक्सले यो सेग्मेन्टको आयात बढाएका हुन् ।

२०१ किलोवाट माथि केबल ४ युनिट मात्रै बिद्युतीय कार आयात भएको देखिन्छ ।


Back_to_top