काठमाडौं । भारतीय बजारमा ईभी घोषणा गर्ने प्रतिस्पर्धा सुरु भएको छ । विशेषगरी टाटा र महिन्द्राले ईभीमा थुप्रै काम गरिसकेका छन् । यी दुई कम्पनीलाई पच्छाउँदै हुन्डाई, मारुती सुजुकी र टोयोटाले पनि ईभी ल्याउने तयारी अन्तिम चरणमा पुर्याएका छन् ।
बढ्दो ईभीको चर्चामा अर्को जापानी ब्राण्ड होन्डाले पनि भारतमा इलेक्ट्रीक भेहिकल ल्याउने घोषणा गरेको छ । होन्डाले ल्याउने इलेक्ट्रीक मोडलको कोड नेम डीजीनाइनडी राखेको छ । कम्पनीले उक्त ईभीलाई राजस्थानमा रहेको तापुकारा प्लान्टबाट उत्पादन गर्नेछ ।
अहिले बिक्री गर्दै आएको कम्प्याक्ट एसयूभी एलिभेटमा आधारित रहेर बनाउन लागेको नयाँ ईभीको विषयमा कम्पनीले कुनै टेक्नीकल जानकारी बाहिर ल्याएको छैन । विभिन्न रिपोर्टहरुका अनुसार नयाँ मोडलमा ४० देखि ५० किलोवाट आवरसम्मको ब्याट्रीप्याक रहेने छ । साथै, यसको रेन्ज ४०० किलोमिटर सम्म हुने छ ।
फ्रन्ट ह्वील ड्राइभमा आउने होन्डाको पहिलो ईभीमा डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, इलेक्ट्रीक ड्राइभर सिट, भेन्टीलेटेड फ्रन्ट सिट, पानारोमिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ३६० डिग्री क्यामरा जस्ता टेक फिचर रहने छन् ।

