‘सी-१०’ एसयूभीलाई १ हजार किलोमिटर चलाएर हेर्दा… (भिडियोसहित)

काठमाडौं । बढ्दो विद्युतीय साधनको बिक्रीसँगै पछिल्लो पटक नेपाल आएको लीप मोटर्सको सी-१० ले सकारात्मक चर्चा पाइरहेको छ । यसले चर्चा पाउनुमा थुप्रै कारण छन् । तर, महत्वपूर्ण कुरा सी–१० एसयूभी चलाउन कस्तो छ भन्ने हो ।

कुनै पनि साधन ५ किलोमिटर चलाएर त्यसको सवल र कमजोर पक्ष ठ्याक्कै भन्न सकिँदैन । जति धेरै चलाएर अनुभव गर्न सकिन्छ, त्यति नै धेरै गाडीका विषयमा जानकारी दिन सकिन्छ । त्यसैले लीप मोटर्सले नेपालमा बिक्री सुरू गरेको पहिलो मोडल सी-१० लाई हामीले १००० किलोमिटर चालएका हौं ।

लामो ड्राइभको अनुभवका आधारमा हामी भन्न सक्छौं, ‘रोडमा कन्फिडेन्स ड्राइभिङ र रेन्जमा पक्का मोडल हो ‘लीप-१०’ एसयूभी ।’

हामीले चलाएको बाटो

असोजको दोस्रो साता आएको बाढीपहिरोले क्षतविक्षेद बनाएको बाटोमा हामीले सी–१० को टेष्ट ड्राइभ गरेका हौं । हामीले यसलाई फर्पिङ-सिस्नेरी हुँदै हेटौँडासम्म चलाएका थियौं । हेटौँडाबाट मदन भण्डारी लोकमार्ग हुँदै सिन्धुली, भिमान, कटारी, गाइघाट, इटहरी, दमक हुँदै काँकडभिट्टासम्म चलाएका थियौं ।

सिस्नेरीदेखि कुलेखानी ड्याम्मसम्मको पूरै अफरोडमा करिब ५०० केजीको तौल लिएर हामीले यात्रा गरेका थियौं । खोलाको बीचमा बनाइएको डाइभर्सनमा गाडीको पर्फर्मेन्स उत्कृष्ट थियो । हामीले सी-१० लाई साँच्चै उच्च ग्राउन्ड क्लियरेन्स भएको एसयूभीको रुपमा पायौं । कम्पनीका अनुसार यसमा १९० एमएम ग्राउन्ड क्लियरेन्स छ ।

मदन भण्डारी राजमार्ग घुमाउरो भए पनि बाटो राम्रो छ । यहाँ गाडीको रेन्ज र पर्फर्मेन्स परीक्षण गर्ने अवसर मिल्छ । त्यस क्रममा हामीले रेन्ज टेष्ट गर्यौं । यसको वास्तविक सडकमा रेन्ज ४०० किलोमिटर हामीले पायौं ।

जाँदा हेडौंडा हुँदै लगेको सी-१० लाई लिएर आउँदा बीपी हाइवेबाट ल्यायौं । रोसी खोलाले ताण्डव देखाएको बाटोबाट आउँदा पनि हामीलाई कुनै किसिमको समस्या भएन । गाडीको पर्फर्मेन्सबाट हाम्रो टिम सन्तुष्ट बन्यो ।

बाहिर बाट कस्तो छ सी-१० ?

कारको सबैभन्दा बढी चर्चा हुने बाहिरी बनोट नै हो । सी-१० एसयूभी एकदमै मिनिमस्टिक डिजाइनमा तयार भएको एसयूभी हो । यसको फ्रन्ट जति ‘क्लिन एण्ड स्लिक ’ देखिन्छ, त्यति नै ‘स्टाइलिस’ पनि छ ।

यसको एलईडी डीआरएल सहितको हेडल्याम्प हेर्दा जति आर्कषक छ, राती चलाउन पनि प्रकाश पुग्ने किसिमको छ । अटो कर्नरिङ भएको कारण घुमाउरा बाटाहरूमा चलाउन पनि निकै सहज हुन्छ । त्यसमा २० इन्चको मल्टी स्पोक ह्वीलले आकर्षणसँगै स्टेबिलिटी प्रदान गर्छ ।

आजकलका ईभीमा खुबै प्रयोग हुन थालेको ‘फ्लस डोर ह्याण्डल’ केही पृथक डिजाइनमा छ । यसको डोर ह्याण्डल अनलक हुँदा पनि बडी भित्रै हुन्छ । यसको बडी क्लाइडिङ पनि निकै स्लिक डिजाइनमा छ ।

एसयूभीको पछाडि हिडन वाइपर दिएको छ । कनेक्टिङ ब्रेक लाइट, टर्न इन्डिकेटर र तल्लो भागमा दिइएको रिफ्लेक्टरको ‘कम्बिनेसन’ उत्कृष्ट लाग्छ । अन्य कारको जस्तो बुट खोल्न झन्झट हुँदैन, बाहिर नै अनलक बटम पाइन्छ ।

के-के छ भित्र ?

यसको एक्स्टेरियर जस्तै इन्टेरियरले पनि यसलाई प्योर एसयूभीको फिल दिन्छ । सुरूमै कुरा गरौं, यसको ड्यासबोर्डको । यसको ड्यासबोर्ड एकदमै हाइटेक छ । सफ्ट टच मेटेरियलको प्रयोग, १४.६ इन्चको इन्फोटेन्मेन्ट, चालकको लागि सूचना दिने १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर छ ।

सी-१० एसयूभीको ड्यासबोर्ड हेर्दा जति हाइटेक छ, त्यो त्यति नै इको फ्रेन्ड्ली पनि छ । यसमा सेलुसल प्रयोग गरिएको छ, जसले उत्पादनको क्रममा हुने वातावरण प्रदूषण ३० प्रतिशतले कम गरेको छ ।

यसको सिट क्वालिटीको कुरा गर्दा अगाडिको दुवै सिट भ्यान्टिलेटे छ । सिटको ब्याक सर्पोट र थाइ सपोर्ट एकदमै राम्रो छ । पछाडि एकदमै धेरै स्पेस छ । पछाडि बस्नेलाई चार्जर र एसी भेन्ट छुट्टै छ ।

यसको अगाडिको दुवै सिटलाई पूरै फोल्ड गरेर चार्जिङको समय सदुपयोग गर्नुका साथै क्याम्पिङका लागि समेत प्रयोग गर्न सकिन्छ । आधुनिक फिचर भएको कारण चलाउन सजिलो हुने नै भयो ।

ड्राइभिङ एक्सपेरियन्स

काठमाडौंदेखि काँकडभित्ता र त्यहाँबाट काठमाडौंसम्म ल्याउँदा सी-१० को लक्जरी र कम्फर्टकाे  तारिफ गर्नै पर्छ । यसमा भएको १६० किलोवाट क्षमताको मोटरले हाइवेमा कुनै पनि समय पावरको कमी महशूस हुँदैन ।

विभिन्न ड्राइभिङ मोडको प्रयोग सहज छ । एसीले झण्डै ५ मिटर लामो यो कारको क्याबिन एकैछिनमा चिसो बनाउँछ । स्मुथ स्टेरिङ र एरोडाइनामिक बडी डिजाइनले कारलाई एकदमै स्टेबल बनाएको छ । यस्तो घुम्ती भएको बाटाहरूमा कतै बडी रोल भएको महशूस हुँदैन ।

सी-१० को क्याविन नोइज प्रुफ छ । यसमा बाहिरको कुनै पनि आवाज आउँदैन । यसमा भएको ‘अल्ट्रा क्वायट’ मोटरले विना कुनै आवाज एमदमै स्मुथ ड्राइभको अनुभव प्रदान गर्छ ।


Back_to_top