काठमाडौं । नेपाली बजारमा टाटा टियागो ईभी सर्वाधिक सफल ह्याचव्याक कार हो । सफल ह्याचव्याक कारको प्रतिस्पर्धी बजारमा नभएका भने होइनन् ।
नेपाली बजारमा टियागोसँगै यही सेग्मेन्टमा डोङफेङ नामी र विलिङ विङ्गो पनि उपलब्ध छन् । यी सबै एउटै सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका मोडल हुन् । सन् २०२४ मा यी सबै मोडल मिलाउँदा २ हजार यूनिट माथिको बजार देखिएको छ । यही ठूलो बजारमा अर्को चर्चित प्रतिस्पर्धीले प्रबेश गर्न लागेको हो ।
बीवाइडीले ल्याउन लागेको ह्याचव्याक कार सिगल धेरै देशमा बिक्री सुरु भइसकेको छ । लेफ्ट ह्याण्ड ड्राइभ बजारमा सफलताको स्वाद चाखिसकेको सिगलले नेपालमा कस्तो ब्यापार गर्छ अहिल्यै एकिन साथ भन्न सकिदैन । तर, सन् २०२५ को पहिलो वा दोस्रो क्वाटरबाट बिक्री हुने अनुमान गरिएको सिगलले बजारमा भने राम्रै चर्चा पाइरहेको छ ।

यसअघि बजारमा उपलब्ध टियागो ईभी र विङ्गो ५० किलोवाट क्षमताको मोटरमा छन् । तर, नामी ७० किलोवाटको मोटरमा छ । ठूलो मोटर भएपनि प्रतिस्पर्धी मूल्यमा उपलब्ध नामी अहिले बजारको हटकेक मोडल हो ।
बीवाइडीले सिगल कति किलोवाट क्षमताको मोटरमा ल्याउँछ अहिल्यै एकिन साथ भन्न सकिदैन । हाम्रो बजारमा विद्युतीय गाडी किन्ने मानिसले मोटर पावरलाई महत्व दिएको पाइदैन । सरकारले भने कर उठाउन मोटरपावर नै आधार बनाउँदै आएको छ ।
ब्याट्री र रेन्जको कुरा गरौं
अहिले बजारमा सर्वाधिक सफल टियागोमा २४ किलोवाट आवरको ब्याट्री छ । यसको वास्तविक रेन्ज २०० किलोमिटर हाराहारी छ । ४९ किलोवाट क्षमताको मोटर भएको कारण पावर राम्रै अनुभव गर्न सकिन्छ ।

केही महिना अगाडि नेपाली बजारमा आएको चिनियाँ ब्राण्ड विलिङको विङ्गो ह्याचव्याक कार पनि उत्कृष्ट मोडल हो । यसमा ३१ किलोवाट आवरको ब्याट्री छ । करिब ३०० किलोमिटर हाराहारी रेन्ज दिने विङ्गो मोडलमा पनि ४९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।
चाडपर्वको समयमा नेपाल आएको डोङफेङ नामी पनि उत्कृष्ट ब्यापार गर्न सफल भइसकेको छ । तिहार पछाडि ग्राहकलाई दिन थालेको नामी अहिलेसम्म २०० यूनिट माथि बिक्री भएको कम्पनीको भनाइ छ । यसमा ३१ र ४२ किलोवाट आवर साइजको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । यसको अधिकतम रेन्ज ३३० किलोमिटरसम्म छ । यसमा ७० किलोवाटको मोटर दिइएको छ ।

बीवाइडी सिगल पनि चीनमा दुई ब्याट्री अप्सनमा उपलब्ध छ । नेपाल कुन ब्याट्री साइजमा आउँछ जानकारी प्राप्त भएको छैन । प्रतिस्पर्धीहरुको ब्याट्री हेर्दा सिगल पनि ३० किलोवाट आवरको ब्याट्री र ४९ किलोवाट आवरको मोटर साइजमा नेपाल आउन सक्छ ।
मूल्य
टाटाले टियागो ईभी २७ लाख ९९ हजारदेखि ३० लाख ९९ हजार रुपैयाँसम्म मूल्य तोकेर बिक्री गर्दै आएको छ । विलिङ विङ्गो किन्ने ग्राहकले २९ लाख ९९ हजार (अफर मूल्य) मै किन्न पाउने छन् ।
डोङफेङ नामीको मूल्य २९ लाख ९९ हजारदेखि ३५ लाख ९९ हजार रुपैयाँसम्म छ । यस्तो सिगलको मूल्य पनि ३० लाख हाराहारी नै हुने अनुमान लगाउन सकिन्छ ।

