काठमाडौं । रोयल इनफिल्डले भारतको गोवामा सुरू भएको मोटोभर्स २०२४ मा दुई नयाँ मोटरसाइकल प्रदर्शन गरेको छ । कम्पनीले बब्बर स्टाइल गोअन ३५० र स्क्रयाम्बलर ४४० सार्वजनिक गरेको हो ।
कम्पनीले क्लासीक ३५० को मोडिफाइड भर्सनको रुपमा गोअन ३५० ल्याएको हो भने हिमालयन स्क्रयाम ४११ को नयाँ भर्सनको रुपमा स्क्रयाम ४४० ल्याएको हो ।
रोयल इनफिल्डले गोअन ३५० मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरेको हो । यसमा कम्पनीले मेटीअर÷हन्टर ३५० मै प्रयोग भएको इन्जिन दिएको छ । बब्बर लुकका लागि सिंगल सिट र यू आकारको ह्यान्डलबार प्रयोग गरेको छ ।
डुअल च्यानल एबीएस, दुवै पाङ्ग्रामा डिस्क ब्रेक, एनालग स्पीडोमिटर र सेमी डिजिटल स्पीडोमिटर, ट्रिपर नेभिगेशन, यूएसबी चार्जिङ पोर्ट जस्ता फिचरहरु छन् । कम्पनीले गोअन ३५० को मूल्य २ लाख ३५ हजार भारतीय रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।
त्यस्तै, स्क्रयाम ४४० मा भने कम्पनीले नयाँ ४४३ सीसी इन्जिन प्रयोग गरेको छ । कम्पनीले यो इन्जिन हिमालयन ४११ मा भएको जस्तै लंग स्ट्रोक (एलएस)मा तयार पारेको हो । अन्य सबै डिजाइन स्क्रयाम ४११ कै समान छ भने यसमा भएको नयाँ इन्जिनले २५.४ पीएस पावरका साथै ३४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
कम्पनीले यो मोटरसाइकल जनवरी २०२५ मा आधिकारिक रुपमा बिक्री सुरु गर्ने अनुमान गर्न सकिन्छ ।


