टाटा पन्च र बीवाइडी डल्फीन बीच कडा टक्कर

काठमाडौं । बीवाइडी डल्फीन र टाटा पन्च बीच आयातमा कडा टक्कर देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनाको आयातमा यी दुई मोडलले राम्रै प्रतिस्पर्धा गरेका छन् ।

भेरियन्टको आधारमा टाटा पन्च ईभीमा धेरै छनोट पाउन सकिन्छ । तर, आयात तथ्यांकको आधारमा लगभग सबै आयात टप भेरियन्टको देखिन्छ । सिप्रदी ट्रेडिङले पन्च ईभीको टप भेरियन्ट इम्पावड प्लस एस भेरियन्टको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

उता साइमेक्स इंक प्रालिले बिक्री गर्दै आएको डल्फीन ह्याचव्याक मोडल हो । यसको मूल्य ४१ लाख १५ हजार रुपैयाँ छ । मूल्यको आधारमा यी दुई मोडलमा २ लाख १६ हजारको अन्तर छ । पन्च ईभी एसयूभी डिजाइनमा उपलब्ध कार हो ।

फिचरमा पनि यी दुई मोडल बीच कडै टक्कर भेट्टाउन सकिन्छ । टाटा पन्चमा सनरुफ, वायरेलस चार्जर लगायतका केही फिचर छन्, जुन डल्फीनमा छैन । डल्फीन आफैमा फिचर लोडेड कार हो । सनरुफ नभएपनि यी ठूलो ब्याट्री, उत्कृष्ट रेन्ज र ठूलो साइजको कार डल्फीनको बलियो पक्ष हो ।

आयातमा कडा प्रतिस्पर्धा

यी दुई कारको आयात चालु आर्थिक वर्षमा सबैभन्दा राम्रो देखिन्छ । टाटा पन्च ईभी भदौंबाट बिक्री सुरु भएको थियो । साउनबाट नै सिप्रदीले यसको आयात सुरु गरेको भन्सार तथ्यांकले देखाएको छ । पन्च ईभी चालु आर्थिक वर्षमा ४५५ यूनिट आयात भएको देखिन्छ ।

पन्च ईभीलाई कम्पनीले साउनमा १०१ युनिट, भदौंमा २१५ युनिट, असोजमा ११६ युनिट र कार्तिकमा २३ यूनिट आयात गरेको छ । समग्रमा नेपाल आएको चार महिनामा नै कम्पनीले ठूलो संख्यामा पन्च ईभी आयात गरेको मान्न सकिन्छ ।

डल्फीन नेपाल आएदेखि नै सफलताको झण्डा गाड्न सफल मोडल हो । कम्पनीको वेष्ट सेलिङ मोडल पन्च ईभी अहिले पनि राम्रो संख्यामा आयात भइरहेको छ । ह्याचव्याक सेग्मेन्टमै राम्रो प्रभाव छाड्न सफल डल्फीन चार महिनामा ३७५ युनिट आयात भएको छ ।

साइमेक्स इंकले साउनमा ५०, भदौंमा २५०, असोजमा ५० र कार्तिकमा २५ यूनिट डल्फीन आयात गरेको देखिन्छ ।

समग्रमा यी दुबै मोडल अहिले बजारमा बजेट कारमा उत्कृष्ट डिल खोज्नेको रोजाईमा पर्दै आएको छ ।


Back_to_top