काठमाडौं । महिन्द्राले केही दिन अगाडि देखाएको कम्प्याक्ट इलेक्ट्रीक एसयूभी बीई ६ईको नाम परिवर्तन गर्ने भएको छ । महिन्द्रा बीई-६ईको नाम परिवर्तन गरेर तत्कालको लागि बीई-६ मात्रै बनाउने भएको हो ।
महिन्द्राले क्रसओभर इलेक्ट्रीक कार सार्वजनिक गरेको केही दिनमै भारतको सबैभन्दा ठूलो एयरलायन्स कम्पनी इन्डिगोले आफ्नो कलसाइन ‘६ई’सँग जुधेको भन्दै विरोध जनाएको थियो ।
अहिले कानुनी प्रक्रियामा गइसकेको उक्त घटनालाई महिन्द्राले अदालतबाट नाम सम्बन्धी निर्णय नआएसम्म बीई-६ई नाम प्रयोग गर्ने जनाएको छ । कम्पनीका अनुसार अब यसलाई बीई-६ नामबाट ल्याउने भएको हो ।
महिन्द्राले ‘बीई-६ई’ नाम क्लास १२ सेक्सन अन्तर्गत ट्रेडमार्क दर्ता गराएको थियो । एयरलायन्स र अटोमोवाइल फरक प्रकृतिको व्यवसाय भएकाले आफूले बीई-६ ई नाम राख्न पाउनु पर्ने महिन्द्राको दावी छ । अझ इन्डिगोको कलसाइन ६ई मात्र हो जबकी आफुले ‘बीई-६ ई’ पुरै नाममा प्रयोग गरेको महिन्द्राको भनाइ छ ।
यस्तो घटना सन् २००५ मा भइसकेको थियो । भारतीय अटोमोवाइल कम्पनी टाटा मोटर्सले आफ्नो इन्डिगो सेडान कारको नाम एयरलाइन्सले प्रयोग गरेको भनेर अदालत गएको थियो । त्यति बेला फरक प्रकृतिको व्यवसाय भएकोले दुबै कम्पनीले नाम प्रयोग गर्न सक्ने निर्णय आएको थियो ।

