भारतमा टाटाका ईभी बिक्री घट्दो, ८ महिनामा लक्ष्यको आधा पनि बेच्न सकेन

काठमाडौं । भारतको सबैभन्दा ठूलो इलेक्ट्रिक भेहिकल कम्पनी टाटा मोटर्सको ईभी बिक्री घट्दो क्रममा रहेको छ ।

टाटाले चालु आर्थिक वर्ष २०२५ /२०२४ (अप्रिलदेखि नोभेम्बरसम्म) को ८ महिनामा जम्मा ४२ हजार ७७८ युनिट ईभी डेलिभर गरेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा ११.२ प्रतिशतले कम हो ।

टाटाले यस आर्थिक वर्ष १ लाख ईभी बिक्री गर्ने लक्ष्य राखे पनि सो भेटाउन असम्भव देखिएको हो । ८ महिनामा वार्षिक लक्ष्यको करिब ४३ प्रतिशत मात्रै ईभी बिक्री गरेको छ ।

चालु आवको नोभेम्बरमा  कम्पनीले ४ हजार १९६ युनिट मात्रै ईभी बिक्री गरेको छ । यो गत वर्ष सोही अवधिकोभन्दा ९२८ युनिट कम हो । गत नोभेम्बरमा टाटाले ५ हजार १२४ युनिट ईभी बेचेको थियो । गत वर्षभरीमा भने टाटाले ७३ हजार ८४४ युनिट बिक्री गरेको थियो  ।

टाटा मोटर्सले भारतमा सबैभन्दा धेरै मोडलको ईभी बिक्री गर्दै आइरहेको छ । कम्पनीले नेक्सन, पन्च, कर्भ, टियागो तथा टिगोर इलेक्ट्रीक पावरट्रेनमा बिक्री गरिरहेको छ । यस वर्ष भारतको समग्र अटोमोबाइल मार्केट समेत फ्ल्याट रहने विश्लेषण गरिएको छ । यो वर्ष गत वर्षको तुलनामा मात्र २ प्रतिशत अटोमोबाइल मार्केटको ग्रोथ हुने अनुमान रहेको छ ।

ओभरअल ईभी मार्केटमा टाटा मोटर्स एक नम्बर भए पनि हालै लन्च भएको एमजीको विण्डसन सबैभन्दा धेरै बिक्ने ईभी मोडल हुन सफल भएको छ । यसले टाटाको लामो समयदेखिको मार्केट डोमिनेन्सलाई हल्लाएको छ ।

यसका अलावा आगामी वर्षको सुरूआतसँग भारतीय स्थापित अटोमोबाइल कम्पनीहरू मारुती सुजुकी, महिन्द्रा र हुन्डाईले नयाँ ईभी मोडल लन्च गर्ने योजना बनाएका छन् ।


Back_to_top