‘दीपल एस-०९’ फ्ल्यागसिप एसयूभी तयार, यस्ता छन् फिचर

काठमाडौं । चांगानको न्यू इनर्जी भेहिकल ब्राण्ड दीपलको फ्ल्यागसिप एसयूभी एस-०९ तयार भएको छ । चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा कम्पनीले दर्ता गरेसँगै एस-०९ तयार भएको बुझिएको हो ।

कम्पनीले मोडल दर्ता गरेसँगै यसको सम्पूर्ण विवरण पनि सार्वजनिक भएको छ । निकै ठूलो एसयूभीको लम्बाइ ५२०५ एमएम, चौडाइ १९९६ एमएम र उचाइ १८०० एमएम छ । यसमा ३१०५ एमएम लामो ह्वीलबेस दिइएको छ ।

बाहिर आएको तथ्यांक अनुसार एसयूभीमा ६ जनाले आरामदायी यात्रा गर्न सक्नेछन् । तीन रोमा सिट रहने एसयूभीमा २० र २१ इन्चको दुई साइजको ह्वील छनोट गर्न पाइने छ ।

दीपलले ल्याउन लागेको एस-०९ प्योर ईभी भने होइन । यो रेन्ज एक्सटेन्डर ईभी हो । यसमा दीपलको सुपर रेन्ज एक्सटेन्सन २.० टेक्नोलोजी प्रयोग भएको छ । १.५ लिटर टर्बो इन्जिनले जेनेरेटरको रूपमा काम गर्नेछ । यसको टप स्पीड २०५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

कम्पनीले यसमा प्रयोग गरेको ब्याट्री साइज भने खुलाएको छैन । साथै, ईभी मोडलको तयारी बारे कुनै जानकारी बाहिर आएको छैन ।

फ्ल्यागसिप एसयूभीको विन्डसिलको टपमा लाइडार प्रयोग गरिएको छ । ठ्याक्कै नखुलाइए पनि हुवावेको ३.० एडास फिचर यसमा उपलब्ध हुनेछ ।


Back_to_top