चेरीले ल्यायो २ हजार ३७० किमी रेन्ज दिने कार

काठमाडौं । चिनियाँ अटो जाइन्ट चेरीले सिंगल चार्ज र फुल ट्याङ्की इन्धनबाट २ हजार ३६९.९१ किलोमिटर यात्रा गर्न सकिने हाइब्रिड कार ल्याएको छ । कम्पनीले ल्याएको फुलविन A8L मोडल अहिलेसम्मकै धेरै रेन्ज दिने प्लगइन हाइब्रिड कार हो ।

चेरीले आफ्नो चर्चित हाइब्रिड टेक्नोलोजी ‘सीडीएम ५.०’ दिएको छ । उक्त हाइब्रिड टेक्नोलोजीसँग १.५ लिटर क्षमताको नेचुरल्ली एस्पायर्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले गाडी गुडाउने नभई ब्याट्री चार्ज गर्न जेनेरेटरको काम गर्नेछ ।

फुलविन A8L मा ९.५३ किलोवाट आवर र १८.६७ किलोवाट आवर क्षमताको ब्याट्री पाउन सकिन्छ । यसको ठूलो ब्याट्रीले सिंगल चार्जमा १४५ किलोमिटर रेन्ज दिनेछ ।

निकै फिचर लोडेड कारको ड्यास बोर्डमा दुई स्कृन पाउन सकिन्छ । कम्पनीले १०.२५ इन्चको इन्ष्ट्रुमेन्ट क्लष्टर र १५.६ इन्चको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । क्वालकमको स्न्यापड्रागन ८१५५ चीपले कारको सिस्टम कन्ट्रोल गर्नेछ ।

हिटेड र भ्यान्टीलेटेड सिट, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने सिट, ५४० डिग्री क्यामेरा, लेभल २ एडास फिचर, १० एयरब्याग, ५० वाटको वायरलेस चार्जर, सोनीको ८ स्पीकरसहितको साउन्ड सिस्टम यसमा उपलब्ध छ ।

चेरीको गिनिस बुक अफ वर्ल्ड रेकर्ड कायम गर्न सफल हाइब्रिड टेक्नोलोजीको प्रयोग भएकोले यसलाई २.६६ लिटर पेट्रोलको खर्च गरेर १०० किलोमिटर गुडाउन सकिने छ ।


Back_to_top