५०० किमी प्रतिघण्टाको स्पीडमा दौडने कार ल्याउँदै बीवाइडी

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाइडीले आफ्नो लक्जरी ब्राण्ड याङवाङको विद्युतीय हाइपरकार याङवाङ यू ९ एक्सट्रीमबाट बनाएको विश्व कीर्तिमान आफैं तोड्ने तयारी गरेको छ ।

कम्पनीले यसपटक कारको उच्च गति ५०० किलोमिटर प्रतिघण्टा पुर्याउने लक्ष्य राखेको हो ।

गत वर्ष याङवाङ यू ९ एक्सट्रीमबाटले करिब ४९६ किलोमिटर प्रतिघण्टाको उच्च गति हासिल गर्दै उत्पादन कारको विश्व कीर्तिमान बनाएको थियो । यससँगै यसले सन् २०१९ मा ४९०.५२ किलोमिटर प्रतिघण्टाको गति हासिल गरेको बुगाटी चिरोन सुपर स्पोर्ट ३०० प्लसको कीर्तिमान तोडेको थियो ।

गुडवुड फेस्टिभल अफ स्पिडमा बीवाइडीकी कार्यकारी उपाध्यक्ष स्टेला लीले कम्पनीले पुनः उच्च गति परीक्षण गर्ने तयारी गरिरहेको बताएकी हुन् । उनका अनुसार यु ९ एक्सट्रीमबाटले ५०० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्ने सम्भावना छ ।

याङवाङका परीक्षण चालक तथा पूर्व जर्मन रेसर मार्क बासेङ पनि नयाँ कीर्तिमान बनाउन विश्वस्त छन् । गत वर्षको परीक्षणपछि उनले कारलाई पूर्ण गतिमा थप करिब डेढ सेकेन्डसम्म चलाउन सकिने बताएका थिए । त्यसो गर्दा ५०० किलोमिटर प्रतिघण्टाको गति पुग्न सक्ने अनुमान गरिएको छ ।

यू ९ एक्सट्रीमबाटमा चारवटा इलेक्ट्रीक मोटर छन्, जसले संयुक्त रूपमा २,९५० हर्सपावर उत्पादन गर्छन् । प्रत्येक मोटरले करिब ७४४ हर्सपावर उत्पादन गर्छ भने कारमा १,२०० भोल्टको ब्याट्री आर्किटेक्चर प्रयोग गरिएको छ ।

गत वर्षको उच्च गति परीक्षणका लागि कारमा पछाडिको विङ हटाएर साना तर फराकिला टायर प्रयोग गरिएको थियो । अब थप प्राविधिक सुधार हुन सक्ने अनुमान गरिएको छ । बीवाइडीले नोभेम्बरमा नयाँ विश्व कीर्तिमानको प्रयास गर्ने जनाएको छ ।


Back_to_top