फास्ट ट्रयाकको आधा सकियो काम, प्रस्थान बिन्दुको अझै छैन टुंगो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण करिब आधा सकिएको छ । लक्ष्यभन्दा निकै सुस्त गतिमा अघि बढिरहेको फास्ट ट्रयाकको असार मसान्तसम्म भौतिक प्रगति ४८.७२ प्रतिशत पुगेको हो ।

त्यस्तै, वित्तीय प्रगति ५०.६३ प्रतिशत (मोबिलाइजेसन सहित) पुगेको नेपाली सेनाले जानकारी दिएको छ । ७०.९७७ किमी लामो यो सडक २०७४ वैशाख २१ गतेको मन्त्रिपरिषद् निर्णयबाट व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको थियो । सेनाले २०७८ देखि ठेक्का लगाइ निर्माण अघि बढाएको थियो ।

हाल १३ प्याकेजमा विभाजन गरी निर्माण भइरहेको फास्ट ट्रयाकको खोकना-डुकुछाप (प्याकेज नं. ११) बाहेक अरू १२ वटै प्याकेजमा ठेक्का व्यवस्थापन भई हाल धमाधम काम भइरहेको नेपाली सेनाका सूचना अधिकारी (सहायक रथी) राजाराम बस्नेतले जानकारी दिए ।

उनका अनुसार हाल ठेक्का लागेका खण्डमा एकैसाथ पुल, सुरुङ, सडक, इन्टरचेन्ज, टोल प्लाजा, स्लोप प्रोटेक्सन, बक्स कल्भर्ट, अप्टिकल फाइबर डक्ट, इलेक्ट्रिफिकेसन डक्ट निर्माण जस्ता काम भइरहेको छ ।

‘फास्ट ट्रयाकका १३ प्याकेजमध्ये १२ वटाको ठेक्का लागि धमाधम काम भइरहेको छ । खोकना ढुकुछाप खण्डमा जग्गा अधिग्रहण र फास्टट्रयाकका सवारी आवगमन व्यवस्थापन सम्बन्धमा निर्णय हुन बाँकी रहेकाले ठेक्का लाग्न बाँकी छ । यद्यपि, समस्या नभएको खण्डमा काम अगाडि बढाउने तयारी भइरहेको छ,’ उनले मेरोअटोसँग भने ।

१६ पुल निर्माण सम्पन्न, १ किमी कालोपत्र

फास्ट ट्रयाकमा विभिन्न स्थानमा कुल १२.८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुँदै छन् । ८१ मिटरसम्म अग्ला विभिन्न प्रकृतिका पुलहरू निर्माण भइरहेको छ । ८९ पुल मध्ये ८५ वटाको ठेक्का लागिसकेको सूचना अधिकारी बस्नेतले जानकारी दिए । जग्गा विवाद रहेको खोकना खण्डका ४ पुलको ठेक्का लाग्न बाँकी रहेको छ ।

ठेक्का लागेका ८५ पुलमध्ये असार मसान्तसम्म १६ वटा निर्माण सम्पन्न भएको छ । त्यस्तै, ५७ पुलको फाउण्डेसन र ३८ पुलको सबस्ट्रक्चर निर्माण सम्पन्न भएको छ । गत आवमा मात्रै थप १० पुल निर्माण सम्पन्न भएका हुन् ।

फास्ट ट्रयाकमा कालोपत्रको काम समेत सुरु भएको छ । प्याकेज नं. ३ (मकवानपुरको राजदमार) क्षेत्रमा १ किमी सडक कालोपत्र गरिएको हो । सोही क्षेत्रमा ७ किमी सर्भिस लेन पनि कालोपत्र भइसकेको उनले बताए ।

प्याकेज नं. ३ (राजदमार) र प्याकेज नं. ५ (निजगढ)मा गरी कुल ११.०२ किमी सडकमा सबबेस र ५.८ किमीमा बेस राखिएको छ । फास्ट ट्रयाक पहाडी भू-भागमा २५ मिटर र तराई भू-भागमा २७ मिटर फराकिलो हुनेछ ।

बाराको निजगढ क्षेत्रमा एनिमल अण्डरपास निर्माण सम्पन्न भएको छ । टोल प्लाजा तथा इन्टरचेन्ज निर्माण कार्य भइरहेको उनले जानकारी दिए । फास्ट ट्रयाकको बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एकरएक वटा इनटरचेञ्ज र ट्रोल प्लाजा निर्माण गरिने छ ।

दुइटा सुरुङ ब्रेक थ्रु

फास्ट ट्रयाकमा कुल ११.२१० किमी लम्बाइका ७ वटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये हालसम्म दुई वटा ब्रेक थ्रु भइसकेको छ । सूचना अधिकारी बस्नेतका अनुसार हालसम्म लेनडाँडाको १६२२ मिटर र धेद्रेको १६९० मिटरको सुरुङ ब्रेक थ्रु भइसकेको छ । लेनडाँडा सुरुङको सेकण्डरी लाइनिङको काम समेत सकिएको छ भने धेद्रेको अन्तिम चरणमा पुगेको उनले बताए ।

फास्ट ट्रयाककै लामो ३३५५ मिटरको महादेवटार सुरुङ खन्ने काम ८९ प्रतिशत सकिएको छ । महादेवटारको दायाँतर्फको ३४८६ मिटरमध्ये ३२९७ मिटर र बाँयातर्फ ३४२२ मिटरमध्ये २९३८ मिटर सुरुङ खनिसकिएको छ । यो सुरुङमा लाइनिङको काम पनि सँगसँगै भइहरेको छ ।

त्यसैगरी, २२५० मिटर लामो चन्द्रामभीर सुरुङको दाँयातर्फ ५३९ मिटर र बाँयातर्फ ६४८ मिटर खनिएको छ । १०८७ हजार मिटर लामो देवीचौरको बाँयातर्फ १४९ मिटर खनिएको छ भने दाँयातर्फ पोर्टको काम भइरहेको छ । ५२० मिटर लामो सिसौटार दाँयातर्फ ६८ मिटर खनिएको छ । यसको बाँयातर्फ र ५९४ मिटर लामो मौरीभीर सुरुङको पोर्टल तयारी कार्य भइरहेको उनले सूचना अधिकारी बस्नेतले जानकारी दिए ।

फास्ट ट्रयाकमा हालसम्म ५५ हजार ८८७ रुख कटान गरिएको छ । त्यसको बदलामा ७ लाख ५ हजार ५१२ वृक्षरोपन गरिएको छ । तीमध्ये १ लाख ५१ हजार विरुवा हुर्काएर सम्बिन्धत निकायलाई हस्तान्तरण गरिएको उनले बताए ।

फास्ट ट्रयाकमा हालसम्म समष्टिगत रूपमा ९२ अर्ब ६८ करोड रुपैयाँ (मोबिलाइजेसनसहित) खर्च भइसकेको छ । आयोजनाको अनुमानित कुल लागत २ अर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बजेटका आधारमा फास्ट ट्रयाक हाल निर्माणाधीन मध्ये सबैभन्दा ठूलो आयोजना हो ।

प्रस्थान बिन्दुको अझै लागेन टुंगो

फास्ट ट्रयाकको अन्य क्षेत्रमा काम भइरहे पनि प्रस्थान बिन्दु अझै टुंगिएको छैन । हालको डीपीआरमा फास्ट ट्रयाकको प्रस्थान बिन्दु खोकना तोकिएको छ । उक्त क्षेत्रमा मुआब्जा र स्थानीयसँगको विवाद टुंगिन नसकेपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन ५ गते वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी थिइन् ।

त्यस्तै, द्रुतमार्गको सुरू बिन्दुको विकल्पबारे पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक र सडक विभागका प्राविधिक टोलीले २०८० चैतमा तीन विकल्पसहितको प्रतिवेदन बुझाएको थियो । पहिलो विकल्प प्रस्थान बिन्दु डुकुछापलाई बनाएर बागमती नदीको दायाँ किनार प्रयोग गर्ने, दोस्रो प्रस्थान बिन्दु बुङमतीलाई बनाएर चार लेन करिडोर सडक बनाउने र तेस्रो सिकालीघाट क्षेत्रमा नपर्ने गरी बागमतीमाथि पुल बनाएर काम गर्ने विकल्प सुझाएको थियो । साथै, पछिल्लो समय चोभारलाई प्रस्थान विन्दु बनाउने विषयमा छलफल व्यापक भइरहेको छ ।

तर, कुनै एक विकल्पमा टुंगोमा पुग्न सकिएको छैन । डीपीआर संशोधन प्रक्रियामै रहेको छ । नेपाली सेनाले द्रुतमार्गको प्रस्थान बिन्दु सम्बन्धमा विभिन्न विकल्पहरूसहितको डीपीआर तयार गरी सम्बन्धित निकायमा पठाएको र उक्त डीपीआर स्वीकृतको प्रक्रियामा रहेको सूचना अधिकारी बस्नेतले जानकारी दिए । उक्त डीपीआर मन्त्रिपरिषद्बाट स्वीकृत भएर आउन साथ खोकनाखण्डको ठेक्का प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

फेरि म्याद थप्नुपर्ने

यसअघि दुईपटक थपिएको म्यादमा काम नसकिने भएपछि फेरि म्याद थप्नुपर्ने देखिएको छ । दोस्रो पटक थपिएको म्याद २०८३ चैतमा सकिँदै छ । अझै ५१ प्रतिशत काम बाँकी रहेकाले उक्त समयमा काम सक्न असम्भव छ ।

सेनाले भने म्याद थप प्रक्रिया बारे केही बताएको छैन । ‘नेपाली सेना, नेपाल सरकारको निर्णय अनुसार प्राप्त जिम्मेवारी बहन गर्दै आएको र भविष्यमा पनि सोही अनुसार गर्ने प्रतिबद्धता व्यक्त गर्दछ,’ सूचना अधिकारी बस्नेतले भने । यद्यपि, सरोकारवालाले भने अझै ३ वर्ष म्याद थप्नुपर्ने सुझाव दिएका छन् ।

फस्ट ट्रयाक व्यवस्थापनको जिम्मेवारी सेनालाई दिँदा सुरुमा ४ वर्ष (२०७८ साउन २७ गते)म्याद तोकिएको थिथयो । उक्त अवधिमा काम नसकिएपछि पहिलोपट २०८१ मंसिरसम्म र दोस्रो पटक २०८३ चैत मसान्तसम्म म्याद थपिएको थियो ।

फास्ट ट्रयाकलाई नेपालको आर्थिक विकासमा गेम चेन्ज र आयोजनाको रूपमा हेरिएको छ । यो सम्पन्न भएपछि १ घण्टामै काठमाडौंबाट तराई पुग्न सकिने छ । ढुवानी लागत र इन्धन खर्च गरी वार्षिक ५० अर्बभन्दा बढीको बचत हुने अनुमान छ ।


Back_to_top