काठमाडौं । सुदूरपश्चिम रोएल्सका कप्तान पावरफुल हिटर दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिगमा उत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडा ई-५ एसयूभी जितेका छन् । उनलाई एसपीजी अटोमोवाइलका निर्देशक सन्दीप सारडाले कारको साँचो हस्तान्त्रण गरे ।
आज भएको नेपाल प्रिमियमर लिगको फाइनलमा पराजित बन्दै उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिम टीमको कप्तान समेत रहेका दीपेन्द्रले ब्याट र बल दुबैमा उत्कृष्ट पर्फर्मेन्स गर्दै टीमलाई फाइनलमा पुर्याएका थिए ।
दीपेन्द्रले एनपीएलमा ९ खेल खेल्दा १ अर्धशतक सहित २२७ रन बनाएका थिए भने बलिङमा ९ खेलमा कुल ९ विकेट नै लिए । तथापि, उनको फाइनलखेलमा भने ब्याटिङ र बलिङ दुबै चलेन ।
यस्तो छ दीपेन्द्रले पाएको ओमोडा ई-५
ओमोडा ई-५मा ब्लेड टेक्नोलोजीमा आधारित ६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री रहेको छ । उक्त ब्याट्रीलाई सिंगलमा ४३० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
ओमोडा ई-५मा ९९ किलोवाटको मोटर दिइएको छ । यसको लम्बाई ४.४ मिटर छ भने यसमा २६३० एमएमको ह्वीलवेस दिइएको छ । ग्राउन्ड क्लियरेन्स भने १८० एमएम छ ।
सुरक्षाको लागि ६ वटा एयरव्याग रहेको कारमा एडास फिचर भित्र पर्ने १७ सुरक्षा फिचर पनि पाउन सकिन्छ । यसमा ५४० डिग्री क्यामेरा, ब्रेक एसिस्ट, हिल होल्ड एसिस्ट, लेन चेन्ज एसिस्ट, ट्राफिक जाम एभोइडेन्स, अटोनोमस इमर्जेन्सी ब्रेकिङ जस्ता फिचर छन् ।

