हात्तीवन रिसोर्ट जाने उकालोमा ‘एक्स्पेङ जी-६’ चलाउँदा

काठमाडौं । चिनियाँ स्टार्ट अप कम्पनी एक्सपेङ न्यू इनर्जी भेहिकलमा चर्चित ब्राण्ड हो । यसले बनाएका विद्युतीय कार चीनभन्दा बाहिर पनि राम्रो चर्चा र सफलता पाउन सक्षम भएको छ ।

टेस्ला मोडल वाईको सिधा प्रतिस्पर्धी मोडलको रूपमा बेलायत, अष्ट्रेलिया र चीनमा समेत अलग पहिचान बनाएको एक्सपेङ जी-६ गत भदौमा भएको नाडा अटो शो २०२४ मार्फत नेपालमा डेब्यू गरेको हो । पृथक बडी डिजाइन र लग्जरी फिचरले भरिएको जी-६ मूल्यको हिसाबले पनि उत्कृष्ट मोडल हो । यसलाई कम्पनीले ८४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको छ ।

सीजी मोटर्सले नेपाल ल्याएर बिक्री गरिरहेको एक्सपेङ जी-६ लाई मेरोअटो टीमले उपत्यकाको विभिन्न स्थानमा चलाएर हेरेका थियौं । फर्पिङको हाइटमा रहेको हात्तीवन रिसोर्ट जाने अफरोड बाटोमा यसलाई चलाएपछि गाडी प्रतिको धारणा नै बदलिएको थियो ।

ड्राइभिङ अनुभव

आजकल हामी विद्युतीय गाडीले कति रेन्ज दिन्छ भन्ने विषयमा ध्यान दिन छाडिसकेका छौं । ६६ किलोवाट आवरको ब्याट्री उपलब्ध जी-६ बाट जस्तोसुकै अवस्थामा पनि ४०० किलोमिटर रेन्ज पाउन सकिन्छ । डब्लूएलटीपी परीक्षण अनुसार यसले ४३५ किलोमिटर रेन्ज दिन्छ । त्यसैले यसको रेन्ज कति भन्ने विषयमा गौण बन्छ ।

यसमा दिइएको १९० किलोवाटको मोटर, ४४० एनएम टर्क र स्पोर्टस् मोडमा पाइने पावरले मलाई लोभ्याएको थियो । ड्राइभिङ सिटमा बस्दाको अनुभूति बेग्लै थियो । सबैतिर दिइएको सफ्टटच मेटेरियल, मेमोरी सहितको वेलकम सिट, उत्कृष्ट सेन्टर कन्सोल र प्रिमियम ड्यासबोर्डको चर्चा जति गरे पनि कमै हुन्छ ।

अगाडि चालकसँगै अर्को प्यासेन्जरका लागि पनि वायरलेस चार्जर पाउने छन् । दुवै वायरलेस चार्जर ५० वाटको छ । यसले अगाडि बस्ने दुवैले सहजै फोन चार्ज गर्न पाउँछन् ।

एक्सपेङले ८०० भोल्ट आर्किटेक्चरमा बनाएको जी-६ तीव्र गतिमा चार्ज हुने मोडल हो । हिटेट स्टेरिङ, मोर्डन स्टेरिङ ह्वील, १७५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स हात्तीवन रिसोर्टको अफरोडमा उक्लन पुग्दोछ । त्यहाँको अफरोडमा आरामसँग ४ जना लिएर उक्लिएको कारण यसलाई धेरै ठाँउमा बनेका स-साना अफरोडमा चलाउन सकिन्छ भन्ने हो ।

युवाहरूको लागि १८ स्पीकरसहितको म्युजिक सिस्टम र सुरक्षाको लागि २.५ एडास फिचरले चालकलाई सहज बनाउँछ । १७ रेडार सेन्सर, १२ हाइ डेफिनेसन क्यामेराको सहायताले कन्फिडेन्ट ड्राइभिङमा ठूलो सहयोग पुर्याउँछ ।

कस्तो छ एक्सपेङ ब्राण्ड ?

चिनियाँ स्टार्टअप कम्पनी भए पनि उसले आफ्नो रणनीतिक साझेदार फक्सवागेनलाई बनाएको छ । जर्मन अटोमोबाइल महारथी फक्सवागेनसँगको सहकार्यले उसलाई युरोपमा सहयोग पुग्ने अनुमान गरिएको छ ।

सन् २०१४ मा स्थापना भएको एक्सपेङ ब्राण्ड प्रिमियम कार उत्पादनमा राम्रो कम्पनी मानिन्छ । कम्पनीले सन् २०२४ मा १ लाख ९० हजार युनिट माथि कार उत्पादन गरेको छ । तीव्र विस्तार भइरहेको कम्पनीसँग अहिले पनि सेडान, एसयूभी र एमपीभी सेग्मेन्टमा कारहरू छन् ।

नेपाली बजारमा एउटा मात्रै जी-६ मोडल उपलब्ध छ ।


Back_to_top