काठमाडौं । नयाँ वर्ष २०२५ को सुरुवातसँगै गाडी बिक्रेताहरु नयाँ मोडल बजारमा ल्याउन तयार देखिन्छन् । लीपमोटरको आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले २०२५ को पहिलो ह्याचव्याक कार मोडल बन्नेगरी टी-०३ मोडल बिक्री सुरु गर्ने तयारी गरिरहेको छ ।
अहिले देशको विभिन्न भूभागमा चलाएर यसको परीक्षण चलिरहेको कम्पनीको भनाई छ । यस विषयमा जानकारी दिदै साँग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले केही दिन अघि भनेका थिए, ‘नयाँ वर्षको सुरुवातसँगै नयाँ मोडल बजारमा ल्याउने छौं । त्यसको लागि गाडी ल्याएर परीक्षण भइरहेको छ । ५ हजार किलोमिटर चलाएपछि बुकिङ खुला गर्नेछौं ।’

जनवरी अन्तिमसम्मा टी-०३ को बुकिङ खुला हुने कम्पनीको भनाई छ । निकै स्टाइलिस डिजाइनमा तयार भएको टी-०३ को अगाडि भागमा नै चार्जिङ पोर्ट छ । यसले डिसी फास्ट चार्जर पनि सपोर्ट गर्नेछ । क्लोजअफ ग्रिल, राउन्ड सेपमा तयार भएको हेडल्याम्प हाउजिङ, प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइटले यसको फ्रन्ट लुक्स सार्प देखिन्छ ।
एडास फिचर, सेफ्टी सेन्स र आकर्षक स्टेरिङ ह्वील दिइएको कारको ड्यासबोर्ड हाडटप मेटेरियलबाट बनेको छ । कडा प्लाष्टिकको मेटेरियल भएपनि ड्यासबोर्डको फिनिसिङ भने उत्कृष्ट पाउन सकिन्छ ।
लीप टी-०३ मा ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । उक्त मोटरलाई पावर दिन ३७ किलोवाट आवर क्षमता ब्याट्री दिइएको छ ।
कम्पनीले यसको लम्बाइ ३६२० एमएम, चौडाइ १६५२ एमएम र उचाइ १५७७ एमएम दिएको छ । २४०० एमएम लामो ह्वीलवेस भएको कार उत्कृष्ट सिटी कार बन्न सक्ने देखिन्छ । यसमा १५ इन्चको अलोय ह्वील, ३६० डिग्री क्यामेरा, तीन अलग ड्राइभिङ मोड लगायतका आधुनिक फिचर छन् ।
लिप मोटर्सले टी-०३ मा १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८ इन्चको टीएफटी डिस्प्ले, भिजन रुफ पनि दिएको छ ।

