तीन दर्जन बढी नयाँ कार मोडल नेपाल आउँदै

काठमाडौं । सन् २०२५ विद्युतीय साधनको लागि तिब्र प्रतिस्पर्धा हुने वर्ष हो । नेपालमा अहिल्यै झण्डै ३० ब्राण्डका सवारी साधन बिक्री हुँदै आएका छन् । यी नै बिक्री हुँदै आएका ब्राण्ड र अन्य नयाँ आउने ब्राण्डले करिब तीन दर्ज मोडल नेपाली बजारमा ल्याउँदैछन् ।

पहिलो पटक भारतबाट संख्यात्मक विद्युतीय कार आउन लागेका छन् । महिन्द्रा, हुन्डाई, सुजुकी जस्ता ब्राण्डले इलेक्ट्रीक एसयूभी बजारमा ल्याउँदैछन् । साथै, सदाबहार ईभी बिक्रेता टाटादेखि सिट्रोन, टोयोटा र रेनोसम्मले नयाँ विद्युतीय मोडल बजारमा ल्याउने सम्भावना बढ्दै गएको छ ।

सन् २०२५ को सुरुवातसँगै होन्डाले पनि नेपालमा ईभी बिक्री सुरु गर्दैछ । साथै, चीनबाट जिटोर, अइएम, फरथिङ जस्ता नयाँ ब्राण्ड पनि नेपाली बजारमा बिक्री थाल्दैछन् । युरोपियन जाइन्ट फक्सवागेन ग्रुपले पनि नयाँ गाडी बजारमा ल्याउने तयारी गरिरहेको छ ।

यस्ता छन् बजारमा आउने तीन दर्जन कार मोडल

सन् २०२५ को सुरुवातमै बजारमा आउन लागेका गाडीमा होन्डा इःएन-१ हो । होन्डाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी बजारमा ल्याउन लागेको छ । साथै, हुन्डाई क्रेटा ईभी पनि चाँडै नेपाली बजारमा उपलब्ध हुने मोडल हो ।

क्रेटा ईभीको अलावा हुन्डाईले नयाँ जेनेरेशन कोना र आयोनीक-९ पनि नेपाली बजारमा ल्याउने छ । कम्पनीले चाँडै कोरियाली बजारमा बिक्री गर्दै आएको इन्स्टर एसयूभी पनि नेपाल ल्याउने अनुमान गरिएको छ ।

नेपालकै सर्वाधिक सफल ईभी ब्राण्ड टाटाले चाँडै कर्भ र नयाँ नेक्सन ईभी बिक्री सुरु गर्दैछ । सन् २०२५ को अन्तिमसम्ममा टाटाले सिरिया ईभी पनि नेपालमा बिक्री थाल्नेछ ।

चर्चित चिनियाँ ब्राण्ड र एसयूभीमा नेपालको नम्बर वान ब्राण्ड बीवाइडीले दुई मोडल बजारमा ल्याउने छ । कम्पनीले बीवाइडी सिगल ह्याचव्याक कार र एटो-२ मोडल नेपाल ल्याउने छ । कम्पनीले नेपाल ल्याउने यी दुबै मोडल बहु प्रतिक्षित मोडल हुन् ।

एमजीले पनि यस वर्षको सुरुवातमै एस-०५ मोडल बजारमा ल्याउने भएको छ । कम्पनीले अर्को भारतमा उत्पादन भएको विन्डसर र लग्जरी मोडल मार्भल–आर पनि चाँडै बजारमा ल्याउने छ ।

अर्को सफल ब्राण्ड चांगानले पनि निभो ई-०७ जनवरीमै सार्वजनिक गर्दैछ । यसका अलावा कम्पनीले दीपल एस-०७ लङ रेन्ज र दीपल एस–०५ एसयूभी नेपाली बजारमा बिक्री थाल्नेछ ।

ओमोडा जेको ब्राण्डले अल ह्वील ड्राइभ जेको र ओमोडा सी-५ मोडल नेपाली बजारमा ल्याउने छ । साथै कम्पनीले ओमोडा जेकोमा नयाँ भेरियन्टहरु ल्याउने छ । चेरीको आई कार भी-२३ मोडल पनि सन् २०२५ मै नेपाल आउने छ ।

महिन्द्राले पनि कम्तीमा ४ नयाँ एसयूभी नेपाली बजारमा बिक्री थाल्नेछ । कम्पनीले नेपाल ल्याएको एक्सयूभी थ्रीएक्सओ चाँडै बिक्री सुरु गर्दैछ । त्यसैगरी, बीई–६, एक्सईभी–९ र एक्सईभी–७ गरी तीन इलेक्ट्रीक मोडल नेपाल ल्याउने छ ।

सुजुकीले ई–भिटारा बिक्री सुरु गर्दा लीपमोटरले दुई मोडल नेपाल ल्याउने छ । लीपमोटरको टी-०३ यहि महिनाबाट बुकिङ खुल्ला हुँदैछ । अर्को बी-१० एसयूभी पनि नेपाल आउने छ ।

जीकरले ७-एक्स मोडल नेपाल ल्याउने तयारी गरिरहेको छ । स्काइवेलले पनि नयाँ ह्याचव्याक मोडल ल्याउँदैछ । ग्रेटवाल मोटर्स, जीएसी एवोन, एक्सपेङ र अवतारका पनि एक/एक मोडल आउने छन् ।

बजारमा आउन लागेका नयाँ ब्राण्डहरु आइएम, फरथिङ, भीनफास्ट र जिटोर ब्राण्डले पनि कम्तीमा एक/एक नयाँ मोडल नेपाल ल्याउने छन् ।


Back_to_top