काठमाडौं । विश्वभर न्यू इनर्जी भेहिकलको डिमान्ड बढ्दै जाँदा विद्युतीय साधनको मुख्य कम्पोनेन्ट मानिने हाइभोल्टेज ब्याट्रीको माग पनि उच्चदरमा बढेको छ । बजार माग अनुसार ब्याट्री उत्पादकहरुले पनि उत्पादन बढाउँदै लगेका छन् ।
सन् २०२४ को जनवरीदेखि नोभेम्बर अन्तिसम्म (११ महिना) मा ७८५.६ गीगावाट आवर ब्याट्री उत्पादन भएको छ । जुन सन् २०२३ को ११ महिनाको तुलनामा २६.४ प्रतिशतले बढि हो ।
न्यू इनर्जी भेहिकल जस्तै हाइ भोल्टेज ब्याट्रीमा पनि चिनियाँ उत्पादकहरु नै अगाडि छन् । सन् २०२४ मा पनि विगत जस्तै सीएटीएलले सबैभन्दा धेरै बजार हिस्सा ओगटेको देखिन्छ । कम्पनीले ११ महिनाको अवधिमा कुल बजार हिस्साको ३६.८ प्रतिशत ओगटेको छ ।
सीएटीएललाई पछ्याउदै अगाडि बढिरहेको बीवाइडीले पनि आफ्नो उत्पादन र बजार हिस्सा दुबै बढाएको छ । अघिल्लो वर्ष १४ प्रतिशत बजार हिस्सा रहेको बीवाइडीले गत वर्षको ११ महिनामा १७.१ प्रतिशत बजार आफ्नो बनाउन सफल भएको छ । तेस्रो ठूलो कम्पनी भने कोरियन ब्राण्ड एलजी इनर्जी सोलुसन बन्न सफल भएको छ । उसको बजार हिस्सा ११.६ प्रतिशत छ ।

चौथोमा सीएएलबीको ४.६ प्रतिशत, पाँचौमा एसके अनको ४.५ प्रतिशत, छैठौमा जापनीज कम्पनी पानाशोनिकको ४ प्रतिशत रहेको छ । सातौमा अर्को कोरियन कम्पनी सामसुङको ३.७ प्रतिशत हिस्सा रहेको छ । आठौँमा गोसन हाइटेकको २.७ प्रतिशत, नबौमा इभीइ इनर्जीको २.३ प्रतिशत र सूचीको दशौँ स्थानमा सनओडा २ प्रतिशत रहेको छ ।
टप १० कम्पनीले झण्डै ९० प्रतिशत बजार हिस्सा ओगटेका छन् । वाँकी १० प्रतिशतभन्दा केही बढि १०.७ प्रतिशत बजार अन्य कम्पनीको छ ।


