टाटाको प्रिमियम ब्राण्ड अभिन्याले ५ मोडल ल्याउँदै

काठमाडौं । टाटा मोटर्सको प्रिमियम ब्राण्ड अभिन्याले ५ मोडलका ईभी ल्याउने भएको छ । टोयोटाको लेक्सस, हुन्डाईको जेनेसिस जस्तै अभिन्या टाटा मोटर्सको प्रिमियम ब्राण्ड हो ।

२ वर्ष अगाडि कन्सेप्ट देखाएको कम्पनीले आगामी वर्ष स्पोर्टब्याक मोडलमा आफ्नो पहिलो लग्जरी इभी ल्याउने भएको हो । अभिन्याको पहिलो मोडल ५ ढोके डाइनामिक स्पोटब्याक डिजाइनमा आउनेछ ।

टाटा मोटर्सका ग्लोबल डिजाइन हेड मार्टिक उल्लरिकका अनुसार अभिन्याको पहिलो मोडलको डिजाइन डिपार्टमेन्टको काम सकिसकेकोले आगामी वर्षभित्र कार लन्च हुनेछ ।

उनका अनुसार अभिन्याले नयाँ लग्जरी इलेक्ट्रीक ब्राण्डको मानक स्थापना गर्नेछ । टाटा मोटर्सले वार्षिक २४ हजार युनिट अभिन्या उत्पादन गर्ने योजना बनाएको छ ।

अभिन्याको स्पोर्टब्याक मोडल पछि दोस्रो प्रडक्टको रूपमा भने एसयूभी उत्पादन हुनेछ । कम्पनीले अभिन्या ब्राण्डको एसयूभी अभिन्या एक्स कन्सेप्ट यसै वर्ष देखाएको छ ।

टाटा मोटर्सले अभिन्या ब्राण्डमा ५ वटा मोडलहरू ल्याउने योजना बनाएको छ । अभिन्या ब्राण्डका ईभीहरू जेएलआरको इएमए प्ल्याटफर्ममा निर्माण हुनेछ ।

कम्पनीले निकट भविष्यमै अभिन्या ब्राण्डमा ४.४ मिटरको एसयूभी, थ्रीरो भएको ७ सिटे एसयूभी तथा ४.९ मिटरको लग्जरी युटिलीटी भेहिकल समेत ल्याउने योजना बनाएको छ ।


Back_to_top