नेपाल-भारत व्यापार सम्झौता प्रभावकारी बनाउन नाडाले गर्यो छलफल

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)का प्रतिनिधिले भारतको नयाँ दिल्लीमा नेपाल भारत व्यापार सम्झौता बारे छलफल गरेको छ ।

आइतबार नाडा अध्यक्ष करण चौधरीको नेतृत्वको टोलीले भारत सरकार, वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ्क एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (ईईपीसी) राष्ट्रिय अध्यक्ष पंकज चड्डासंग नेपाल र भारतको व्यापार सम्झौतालाई थप विस्तार र प्रभावकारी बनाउने बारे छलफल गरेको हो ।

द्धिपक्षिय आयात निर्यातलाई कसरी सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा पहिलो चरणको छलफल सम्पन्न भएको नाडाले जनाएको छ । अब दोस्रो चरणको छलफल दुवै पक्षले अर्को मिति तोकेर भारतको ईईपीसीलाई नेपालमा निमन्त्रण गरिने छ ।

उक्त छलफलमा अटोमोबाइल कम्पोनेण्ट, अटोमोबाइल स्पेयर पार्टस र विद्युतिय सवारी साधनहरूका विषयमा छलफल गरिने छ ।

यही जनवरी १७ देखि नयाँ दिल्लीमा आयोजना भइरहेको भारत मोबिलिटी अन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।

 


Back_to_top