भारतमा होण्डाले इलेक्ट्रीक दुई पाङ्ग्रेको लागि छुट्टै प्लान्ट बनाउने

काठमाडौं । होण्डा इन्डियाले पछिल्लो दुई वर्षदेखि भारतकै सर्वाधिक सफल मोटरसाइकल ब्राण्ड हिरोलाई कडा टक्कर दिँदै आएको छ । आफ्नो प्रतिस्पर्धालाई थप चुस्त बनाउन होण्डाले नयाँ योजना तयार गरेको छ ।

विश्व बजारमा इलेक्ट्रीक सवारी साधनको माग उच्च बन्दै जाँदा होण्डा इन्डियाले हालै सम्पन्न भारत मोविलिटी एक्स्पो २०२५ मा दुई मोडलको इलेक्ट्रीक स्कुटर देखाएको थियो । कम्पनीले देखाएको होण्डा एक्टिभा ई र क्यूसी १ को डेलिभरी मार्चदेखि सुरु गर्दैछ ।

बजारमा नयाँ विद्युतीय साधन पठाउने योजनासँगै होण्डाले भारतमा इलेक्ट्रीक दुई पाङ्ग्रे उत्पादनका लागि छुट्टै डेडिकेटेड प्लान्ट संचालनमा ल्याउने घोषणा गरेको छ । कम्पनीले हालै एक विज्ञप्ती सार्वजनिक गर्दै ईभी उत्पादनका लागि कर्नाटकामा प्लान्ट लगाउने जनाएको हो ।

होण्डाले नयाँ बनाउने प्लान्टबाट हालै सार्वजनिक गरेको दुई मोडलका स्कुटरसँगै अन्य इलेक्ट्रीक दुई पाङ्ग्रे समेत उत्पादन गर्नेछ । नयाँ प्लान्ट २०२८ को अन्त्यसम्ममा पूर्ण क्षमतामा संचालनमा आउने कम्पनीको भनाई छ ।

सुरुवातमा यो प्लान्टबाट ४ किलोवाट मोटर क्षमाताका स्कुटरहरु उत्पादन गर्ने योजना रहेको र विस्तरै मिड साइज इलेक्ट्रीक मोटरसाइकल यही प्लान्टमा उत्पादन गरिने कम्पनीले जनाएको छ ।

होण्डाले आगामी १० वर्षमा ३० मोडलका दुई पाङ्ग्रे इलेक्ट्रीक साधन बजारमा ल्याउने योजना अघि सारेको छ । यस दौरानामा होण्डाले दुई पाङ्ग्रे इलेक्ट्रीक बजारमा ५० प्रतिशत हिस्सा ओगट्ने योजना बनाएको हो ।


Back_to_top