काठमाडौं । एसयूभीको मूल्य प्रतिस्पर्धी बनाउने होड सुरु भएको छ । बजारमा दर्जनौ ब्राण्ड उपलब्ध भएसँगै कम मूल्यमा गाडी बिक्री गर्ने होड चलेको हो ।
अहिले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सबैभन्दा सस्तो मोडल केई एक्स-थ्री प्रो मोडल हो । उक्त मोडल बजारमा आएसँगै उसको सिधा प्रतिस्पर्धामा रहेको मोडलले पनि मूल्य समायोजन गरेको छ ।
नाडा अटो शो २०२४ बाट प्राइस वार सुरु भएको ईभी बजारमा एमजीले ४६ लाख ९९ हजारमा जेडएस ईभी बिक्री गरेको थियो । त्यसको काउन्टरमा सेरेसले ४८ लाख ९९ हजारमा सेरेस-थ्री दियो । अहिले केईले ९९ किलोवाटको मोटरमा एक्स-थ्री प्रो नेपाल ल्याएसँगै थप मूल्य घटेको हो ।
केईले इन्ट्री भेरियन्टको मूल्य ४३ लाख ९६ हजार र टप भेरियन्टको मूल्य ४६ लाख ९६ हजारमा एक्स–थ्री प्रो मोडल उपलब्ध गराएको हो । योसँगै सेरेसले नयाँ मूल्य ४८ लाख ८७ हजार प्रकाशित गरेको छ ।
एमजीले भने जेडएस ईभीको बिक्री लगभग सकिएको जनाएको छ । बाँकी रहेको गाडी पनि कम्पनीले ४६ लाख ९९ हजारमै उपलब्ध गराएको छ । एमजीले अब यही सेग्मेन्टमा एस-५ मोडल ल्याउँदैछ । कम्पनीले एस-५ मोडलको मूल्य कति कायम गर्ने भन्ने विषयमा बजारमा अन्य उत्पादनको मूल्यलाई नजिकबाट चियाई रहेको छ ।
त्यसैले अहिले बजारमा उपलब्ध दुई प्रतिस्पर्धी केई एक्स-थ्री प्रो र सेरेस-थ्री बीचको प्रतिस्पर्धालाई हामीले नजिकबाट चियाउने कोसिस गरेका छौं ।
साइज
लम्बाइमा एक्स-थ्री केही लामो छ । चौडाइ र उचाइमा सेरेस केही अगाडि छ । एक्स-थ्री प्रोको लाम्बाइ ४४४३ एमएम, चौडाइ १८३१ एमएम र उचाइ १६४६ एमएम छ ।

सेरेस-थ्रीको लम्बाइ ४३८५ एमएम, चौडाइ १८५० एमएम र उचाइ १६५० एमएम छ । ह्वील बेस भने सेरेस थ्रीमा २६५५ एमएम हुँदा एक्स-थ्री प्रोमा २६३२ एमएम रहेको छ ।
विद्युतीय गाडी किन्नेले सबैभन्दा धेरै सोध्ने विषय ग्राउन्ड क्लियरेन्स हो । सेरेसमा १९० एमएम र एक्स–थ्री प्रोमा १८३ एमएम ग्राउन्ड क्लियरेन्स छ । दुवै एसयूभीमा १८ इन्चको ह्वील छ । चारै चक्कामा डिसब्रेक पाउन सकिन्छ ।
ब्याट्री साइज
दुवै मोडलमा लगभग एउटै साइजको ब्याट्री प्याक छ । सेरेसमा ५२.७ किलोवाट आवरको टर्नरी लिथियम आयोन ब्याट्री छ । एक्स-थ्री प्रोमा ५३.६ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री छ । दुबैको रेन्ज ३०० किलोमिटर आसपास छ ।
चार्जिङ स्पीड र पावर
डीसी चार्जर सपोर्टको मामलामा केई एक्स-थ्री प्रोमा १०० किलोवाट चार्जर सपोर्ट गर्छ । सेरेस थ्रीले ६० किलोवाटसम्मको फास्ट चार्जर लिन्छ । दुवै एसयूभीमा ३.३ किलोवाटको पोर्टेवल चार्जर दिएका छन् भने केईको एक्सथ्री प्रोमा ७ किलोवाटको होम चार्जर समेत उपलब्ध हुन्छ ।

पावरको मामलामा पनि दुबै एसयूभीमा समान ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । टर्क भने केई एक्सथ्री प्रोले २६० न्यूटन मिटर र सेरेस थ्रीले ३०० न्यूटन मिटर प्रदान गर्छ ।
फ्रन्ट फेसिया, डिजाइन र लाइट
फ्रन्टमा दुवै एसयूभीमा क्लोज ग्रिल पाउन सकिन्छ । एलइडी हेडल्याम्प र एलइडी डीआरएल दुवैमा प्रयोग गरिएको छ । सेरेस-थ्रीमा चार्जिङ पोर्ट परम्परागत आइसीई गाडीको इन्धन भर्ने ठाँउमा दिएको छ । एक्स–थ्री प्रोमा मोर्डन इलेक्ट्रीक भेहिकलमा जस्तै अगाडि दिइएको छ ।
पछाडिको भागमा प्रयोग कनेक्टेड एलईडी लाइटले एक्स-थ्री प्रोलाई मोर्डन एसयूभी बनाएको छ । सेरेस-थ्रीमा भने सामान्य डिजाइनको ब्याक लाइट मात्र पाउन सकिन्छ ।
सस्पेन्सन
दुवै एसयूभीको फ्रन्टमा म्याक पियरसन स्ट्रट सस्पेन्सन दिएको छ । रियरमा भने एक्सथ्री प्रोमा मल्टिलिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन रहेको छ । तर, सेरेसमा इन्डिपेन्डेन्ट सस्पेन्सन छैन ।
क्याबिन फिचर
क्याबिन फिचरको तुलना गर्दा सेरेर-थ्री र एक्स-थ्री प्रोमा आधारभूत फरक छैन । दुवै ईभीमा मल्टिफङ्सन स्टेरिङ ह्वील छ । एक्स-थ्री प्रोको स्टेरिङ २ स्पोक बटम फ्ल्याट स्पोर्टी छ । सेरेस-थ्रीमा थ्री स्पोक बटम फ्ल्याट छ । सेरेसको स्टेरिङमा मल्टी फङ्सन मोडसमेत छ, जुन एक्स-थ्री प्रोमा छैन ।

दुवै एसयूभीमा १०.२५ इन्चको फ्लोटिङ डिजिटल इन्फोटेन्मेन्ट डिस्प्ले रहेको छ । सेरेसको इन्टुमेन्ट क्लस्टर १०.२५ इन्चकै छ भने एक्सथ्री प्रोमा ७ इन्चको मात्र छ ।
दुवै ईभीमा एसी कन्ट्रोलका लागि फिजिकल बटन तथा ६ वटा स्पीकर दिएको छ । गियर सिफ्टर पनि दुवैमा लिभर स्टाइलको छ । सेन्टर कन्सोलमा दुवै ईभीमा वायलेर मोबाइल चार्जिङ प्याड, अटोहोल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक प्रयोग भएको छ ।
दुवै एसयूभीमा वान टच पावर विण्डो तथा इलेक्ट्रीक ओआरभीएम रहेको छ । एक्सथ्रीप्रोमा म्यानुअल आइआरभीएम र सेरेसमा अटोमेटिक आइआरभीएम छन् ।
सेरेसमा स्पोर्टस, इको र नर्मल गरी ३ थरी ड्राइभिङ मोड छ । एक्स-थ्री प्रोमा भने स्पोट्स र ईको मोड मात्रै छ । क्याबिनमा देखिने अर्को मूल्य फरक भनेको सेरेसमा खोल्न मिल्ने सनरुफ छ । तर, एक्सथ्री प्रोमा प्यानारोमिक स्काई रुफ मात्र छ ।
दुवै एसयूभीमा लेदरेट सिट कभर छ सेरेसको रियर सिटमा आर्मरेस्ट दिएको छ भने एक्स-थ्रीप्रोमा त्यो मिसिङ छ । दुवै ईभीमा अटोमेटिक हेडलाइटको फिचर छ । एक्स-थ्री प्रोमा बोनलेस वाइपर, भेहिकल टु लोड फेसलिटी र फ्रन्ट भेन्टिलेटेड डिसब्रेक छ, जुन सेरेसमा छैन ।

सेरेसमा थप फिचरका रूपमा हिटेड फ्रन्ट सिट, दुवै फ्रन्ट सिट ६ वे एड्जस्टेवल, हिटेड ओराभीएम, रेन सेन्सिङ वाइपर, ड्यासक्याम तथा रुफरेल समेत रहेको छ । सेरेसमा एप्पल कारप्ले तथा एड्रोइड अटोका साथै रियल टाइम अफलाइन जीपीएसको सुविधा छ ।
सुरक्षा फिचर
सुरक्षाका लागि सेरेसमा ६ वटा एयरब्याग रहेको छ । एक्सथ्रीप्रोमा ४ वटा एयरब्याग मात्र रहेको छ । दुवै एसयूभीमा ३६० डिग्री क्यामरा, रियर पार्किङ सेन्सर, ईबीडी, एबीएस, ईबीए, हिल असिस्ट र हिल डिसेन्ट कन्ट्रोल, इलेक्ट्रीक पार्किङ ब्रेक, अटोहोल्ड, क्रुज कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, लेनकिप असिस्ट, ट्रयाक्सन कन्ट्रोल आदि जस्ता सुरक्षा फिचर छन् ।
वारेन्टी
सेरेसले आफ्नो ईभीको ब्याट्री प्याकमा १ लाख ५० हजार किलोमिटर तथा ८ वर्षको वारेन्टी दिएको छ ।
एक्स-थ्री प्रोले भेहिकलमा ३ वर्ष वा १ लाख किलोमिटरको र इलेक्ट्रीक मोटर, ब्याट्री तथा सबै इलेक्ट्रोनीक कन्ट्रोलमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी अफर गरेको छ ।

