काठमाडौं । उपत्यकामा सवारीसाधन गुडाउनेहरूका लागि ठूलो समस्या हो पार्किङ्ग । जहाँ गयो, त्यहीँ ठडिएको हुन्छ, नो–पार्किङ्ग लेखेको बोर्ड । यस्तो अवस्थामा कहाँ पार्किङ्ग गर्नु भन्ने सबैमा चिन्ता रहेको पाइन्छ ।
यसै विषयमा आज हामी तपाईंलाई न्यूरोड र दरबारमार्ग क्षेत्रमा जाँदा निःशुल्क तथा सशुल्क सवारीसाधन पार्किङ्गको व्यवस्था कहाँ–कहाँ रहेको छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।
यदि तपाईं केही कामले अथवा सपिङ्गका लागि न्यूरोड जाँदै हुनुहन्छ भने चिन्ता नगर्नुहोस् । त्यहाँ तपाईंले धेरै ठाउँमा पार्किङ्ग स्थान पाउन सक्नुहुन्छ ।
न्यूरोडमा धर्मपथ, पाको न्यूरोड, विशालबजार चोकबाट दाइने, देब्रे दुबैतिर, एभरेष्ट बैंकबाट उताको लाइन, पिपलबोट प्रहरी बिटको लाइनमा निःशुल्क पार्किङ्गको व्यवस्था गरिएको छ ।
न्यूरोड क्षेत्रमा निःशुल्क पार्किङ्गमा १ घन्टासम्मका लागि सवारीसाधन पार्क गर्न पाइने व्यवस्था गरिएको न्यूरोड ट्राफिक प्रहरी जवान देवराज निरौलाले बताए ।
कहाँ गर्ने निःशुल्क बाइक पार्किङ्ग ?
न्यूरोड गेटबाट भित्र छिरेपछि तपाईंले एभरेष्ट बैंकबाट लहरै निःशुल्क बाइक पार्किङ्ग गर्ने व्यवस्था मिलाइएको छ ।
त्योभन्दा अलि पर गएपछि पिपलबोट प्रहरी बिटबाट उताको लाइनमा पनि निःशुल्क मोटरसाइकल पार्किङ्गको व्यवस्था मिलाइएको निरौलाले जानकारी दिए ।
यस्तै, आरबी कम्प्लेक्सबाट पाको न्यूरोडतिर जाँदा पनि ठूलो सङ्ख्यामा बाइकको पार्किङ्ग गर्ने स्थान पाउन सकिन्छ ।
न्यूरोडमा ४ पाङ्ग्रे गाडी पार्किङ्ग कहाँ गर्ने ?
४ पाङ्ग्रे गाडी निःशुल्क पार्किङ्गका लागि विशालबजार चोकको दायाँ–बायाँ दुबैतर्फ जान सकिन्छ । विशालबजारमा रहेको शालिकको दाइने र देब्रे दुबैतर्फको लाइनमा १ घन्टाका लागि ४ पाङ्ग्रे सवारीसाधन निःशुल्क पार्किङ्गको व्यवस्था रहेको न्यौपानेले बताए ।
बाइक सशुल्क पार्किङ्ग प्रतिघन्टा १० देखि २५ रुपैयाँसम्म
न्यूरोड बजारमा सशुल्क पार्किङ्गका लागि पनि निकै ठाउँहरू रहेका छन् ।
मोटर साइकल सशुल्क पार्किङ्गका लागि आरबी कम्प्लेक्स, ताम्राकार हाउस, पशुपति प्लाजा, पिपुल्स प्लाजा, रन्जना कम्प्लेक्सलगायतका थुप्रै स्थानहरू रहेका छन् ।
रन्जना ट्रेड सेन्टरमा बाइक प्रतिघन्टा १० रुपैयाँको दरले १२ घन्टासम्म पार्क गर्न सकिन्छ । विशालबजारमा २५ रुपैयाँ प्रतिघन्टाको दरले मोटरसाइकल पार्क गर्न सकिनेछ । आरबी कम्प्लेक्समा २० रुपैयाँ प्रतिघन्टा मोटरसाइकल पार्किङ्ग गर्ने व्यवस्था रहेको छ ।
यस्तै, ताम्राकारमा बाइक पार्क गर्ने हो भने २५ रुपैयाँ प्रतिघन्टा पर्नेछ । पिपुल्स प्लाजामा बाइक पार्किङ्ग गर्दा २० रुपैयाँ प्रतिघन्टा पर्न जानेछ । पशुपति प्लाजामा बाइक प्रतिघन्टा १० रुपैयाँमै पार्किङ्ग गर्न सकिन्छ ।
न्यूरोडमा ४ पाङ्ग्रे सशुल्क पार्किङ्ग कहाँ–कहाँ ?
न्यूरोडमा ४ पाङ्ग्रे सवारी सशुल्क पार्किङ्ग गर्ने हो भने ३ स्थान रहेका छन् । न्यूरोड क्षेत्रमा रन्जना ट्रेड सेन्टर, विशालबजार र पिपुल्स प्लाजामा ४ पाङ्ग्रे सवारीसाधन पार्किङ्गको व्यवस्था छ ।
४ पाङ्ग्रे सवारीसाधन पार्किङ्गका लागि रन्जना ट्रेड सेन्टरमा प्रतिघन्टा ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म मूल्य तोकिएको छ । साना ४ पाङ्ग्रे सवारीलाई प्रतिघन्टा ३० रुपैयाँ शुल्क तोकिएको छ भने ठूलो भ्यानलगायतका सवारीलाई प्रतिघन्टा ५० रुपैयाँको दरले पार्किङ्गको व्यवस्था मिलाइएको छ ।
पिपुल्स प्लाजामा ४ पाङ्ग्रे सवारी प्रतिघन्टा ६० रुपैयाँमा पार्किङ्ग गर्न पाइने व्यवस्था रहेको छ ।
विशालबजारको अन्डरग्राउण्डमा ४ पाङ्ग्रे सवारीसाधन प्रतिघन्टा ७० रुपैयाँदेखि १ सय २० रुपैयाँसम्ममा पार्किङ्ग गर्ने व्यवस्था रहेको छ ।
विशालबजारमा साना ४ पाङ्ग्रे सवारीसाधन प्रतिघन्टा ७० रुपैयाँमा पार्किङ्ग गर्न सकिन्छ भने ठूलो डेलिभरी भ्यानहरू प्रतिघन्टा १ सय २० रुपैयाँमा पार्किङ्ग गर्न पाइने यहाँका सेक्युरिटी नेत्रबहादुर आलेले बताए ।
दरबारमार्गमा यी स्थानमा छन्, निःशुल्क पार्किङ्ग
यदि तपाईं दरबारमार्गतिर जाँदै हुनुहन्छ भने त्यहाँ निःशुल्क तथा सशुल्क दुबै प्रकारको पार्किङ्गको व्यवस्था रहेको छ ।
बाइक निःशुल्क पार्किङ्गका लागि आरपी ज्वेलर्स बाहिरदेखि नारायणहिटी जाने बाटोतर्फ पार्किङ्ग स्थान बनाइएको छ । त्यहाँ २ घन्टासम्मका लागि बाइक निःशुल्क पार्किङ्गको व्यवस्था गरिएको दरबारमार्गका ट्राफिक प्रहरी जवान अनिल बस्नेतले जानकारी दिए ।
यस्तै, केएफसीबाट जमल जाने बाटोतर्फ पनि निःशुल्क बाइक पार्किङ्गको व्यवस्था रहेको छ ।
दरबारमार्गमा ४ पाङ्ग्रे निःशुल्क पार्किङ्ग
दरबारमार्गमा ४ पाङ्ग्रे सवारीसाधन पार्किङ्गका लागि आरपी ज्वेलर्सदेखि अन्नपूर्ण होटल बाहिरसम्म पार्किङ्ग स्थान छुटाइएको छ ।
ट्राफिक प्रहरी जवान बस्नेतकाअनुसार उक्त स्थानमा ४ पाङ्ग्रे सवारीसाधन २ घन्टासम्म पार्किङ्ग गर्ने व्यवस्था मिलाइएको छ ।
सशुल्क पार्किङ्ग कहाँ ?
सशुल्क पार्किङ्गका लागि भने दरबारमार्ग क्षेत्रमा खासै धेरै स्थानहरू भेटाउन सकिने अवस्था छैन ।
दरबारमार्गमा सशुल्क पार्किङ्गका लागि अन्नपूर्ण होटलमा जान सकिन्छ । होटलमा बाहिरी सवारीसाधनलाई सशुल्क पार्किङ्गको व्यवस्था गरिएको छ ।
त्यहाँ बाइक पार्किङ्ग प्रतिघन्टा २५ रुपैयाँ रहेको छ भने ४ पाङ्ग्रे सवारी प्रतिघन्टा ७५ रुपैयाँको दरले पार्किङ्ग गर्न सकिन्छ ।
पार्किङ्ग सेक्युरिटीका लागि बसेका तोकबहादुरकाअनुसार सशुल्क पार्किङ्ग १२ घन्टासम्म गर्न सकिने व्यवस्था छ ।
‘पार्किङ्ग खाली हुँदा बिहानदेखि बेलुकासम्म र बेलुकादेखि बिहानसम्म पार्किङ्गमा राख्न सकिन्छ,’ तोकबहादुरले भने ।
अन्नपूर्ण होटलमा २ सय बढी सवारीसाधन क्षमता भएको पार्किङ्ग स्थल रहेको छ ।

