काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले काठमाडौंमा ‘हाइटेक वीक’ गर्ने भएको छ । कम्पनीले ५ दिनसम्म चलाउने उक्त प्रदर्शनीमा बीवाइडी ग्रुप भित्रका अन्य ४ ब्राण्डका कार प्रदर्शनी हुनेछन् ।
कम्पनीले ‘इनोभेसन मिट्स एक्सीलेन्स’ नाम दिइएको यो प्रदर्शनी फेब्रुअरी २६ बाट सुरु हुने कम्पनीले जनाएको छ । मार्च २ सम्म चल्ने उक्त प्रदर्शनीमा बीवाइडी, डेन्जा, फेङ चेङ बाओ र यांङवाङ ब्राण्डका न्यू इनर्जी भेहिकल रहनेछ ।
पहिलो दिन पत्रकार र दोस्रो दिन विद्यार्थीहरुका लागि छुट्याएको उक्त शोमा बीवाइडी अटो ग्रुपका विभिन्न ब्राण्डका मोडलमा प्रयोग भएको टेक्नलोजी र ती गाडीका क्षमता प्रदर्शनी हुने साइमेक्स इंकको म्यानेजीङ डाइरेक्टर यमुना श्रेष्ठले मेरोअटोलाई भनिन् ।
बानेश्वरको एभरेष्ट होटेलमा संचालन हुने उक्त शोमा विश्व अटोमोवाइल क्षेत्रमा प्रयोग भइरहेको फ्यूचरिस्टीक तथा कटिङएज टेक्नोलोजीको बीवाइडीका कारहरुमा भएको नविनतम प्रयोगहरुको प्रत्यक्ष अनुभव गर्न सकिने श्रेष्ठको दावी छ ।
नेपाली बजारमा ब्याट्री इलेक्ट्रीक भेहिकल मात्रै बिक्री गरिरहेको बीवाइडीले उक्त प्रदर्शनीमा भने ‘डीएम आई प्लगइन हाइब्रिड पावरट्रेन’ भएका गाडीहर पनि देखाउने छ ।

बीवाइडीको टेक वीकमा फेङचेङ बाओ ब्राण्डको लियोपार्ड ५ अफरोड एसयूभी, बीवाइडीको पहिलो इलेक्ट्रीक सार्क पीकअप र याङवाङ ब्राण्डको यू८ इन्टेलिजेन्ट फोर ह्वील ड्राइभ एसयूभी प्रदर्शनी हुनेछ । यी सबै भेहिकलहरु प्लगइन हाइब्रिड हुन् ।
त्यस्तै बीवाइडीले प्रिमियम लग्जरी ब्राण्ड डेन्जाको जेड-९ जीटी सेडान कार र डी-९ एमपीभी इलेक्ट्रीक मोडल पनि प्रदर्शन गर्नेछ ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको उक्त हाइटेक वीकको आयोजनाले नेपाली अटोमोवाइल पारखीहरुले बीवाइडीको फ्युचर टेक्नोलोजी र लाइनअपको प्रत्यक्ष अनुभव लिन सक्नेछन् ।


