काठमाडौं । नेपाली बजारमा आजबाट कम मूल्यको ह्याचव्याक कार बिक्री सुरु हुने भएको छ । आजबाट साँग्रिला मोटर्सले लीपमोटरको टी-०३ ह्याचव्याक कारको बिक्री सुरु गर्न लागेको हो ।
नयाँ ह्याचव्याक कारको मूल्य अहिलेसम्म कम्पनीले बाहिर ल्याएको छैन । आज साँझ विशेष कार्यक्रम आयोजना गरेर टी-०३ को मूल्य सार्वजनिक हुनेछ । अहिले ठ्याक्कै मूल्य थाहा नभएपनि ३० लाखभन्दा कम मूल्यमा बिक्री सुरु हुने यसअघि नै कम्पनीले जनाएको छ ।
नेपालसहित विश्वका २० भन्दा धेरै देशमा उपलब्ध हुने टी-०३ सानो कारमा ठूलो ब्याट्रीको कारण चर्चामा रहेको मोडल हो । यसमा ३७ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । त्यहि कारण यसको रेन्ज करिब २७० किलोमिटरसम्म सहजै पाउन सकिन्छ ।
लीपमोटर टी-०३ मा ‘आईफ्लाई टेक ३.० भोइस इन्टरएक्सन सिस्टम’ दिइएको छ । उक्त भोइस एसिस्टेन्सको सहयोगले फोनकल, नेभिगेसन, मिडिया र अन्य केही फिचर ह्याड्स फ्रीमै कन्ट्रोल गर्न सकिन्छ ।

क्लासिक डिजाइनमा उपलब्ध टी-०३ लीपमोटरको ‘प्रोपाइटरी इलेक्ट्री फिकेसन च्यासिस टेक्नोलोजी’मा आधारित छ । यसमा ९३ प्रतिशत हाइ इफिसीयन्सी रहेको मोटर रहेको कम्पनीको दावी छ ।
‘फोर इन वान इन्ट्रीग्रेटेड इलेक्ट्रीक कन्ट्रोल सिस्टम’ रहेको टी-०३ मा कम भेहिकल तौलमा नै इन्टेरियर स्पेश पाउन सकिन्छ । लीपमोटरले यसलाई इको, स्ट्याण्डर्ड र स्पोट्स गरी तीन ड्राइभिङ मोड दिएर तयार पारेको हो ।


