ईभीमा बलियो प्रोडक्ट रेन्ज, सर्भिससँगै चार्जिङ नेटवर्कले जमेको सिप्रदी

काठमाडौं । सिप्रदी नेपालमा टाटाको पर्यावाची शब्द हो भन्दा फरक पर्दैन । चार दशक लामो टाटासँगको सहकार्य र अटुट सेल्स र सर्भिसको कारण सिप्रदीले अलगै पहिचान बनाएको हो ।

ठूला बस, ट्रक र लाइट कमर्शियल गाडीमा बलियो टाटा विद्युतीय कारको बिक्री बढ्न थालेसँगै थप रफ्तारमा अगाडि बढेको देखिन्छ । कम्पनीले २०२२ र २३ मा नेक्सन ईभी भ्याइ नभ्याई गरेर बिक्री गरेको थियो । आम मानिसको पहुँचमा पुग्न सक्ने मूल्यको पहिलो विद्युतीय कार भएका कारण नेक्सनले बलियो छाप छाड्यो ।

नेक्सनपछि त्योभन्दा कम मूल्यमा बिक्री गर्नेगरी आएको कम्प्याक्ट सेडान कार टिगोरको कथा नै बेग्लैछ । टिगोर सुरूवाती दिनमा ठिकठाक बिक्री भए पनि ट्याक्सीको रूपमा बेच्न एक्सप्रेस टी नामबाट आउन थालेसँगै बिक्री बढ्यो । अहिले काठमाडौंमा देखिने सबै विद्युतीय ट्याक्सी एक्सप्रेस टी (टिगोर ईभी) हो ।

नेक्सन र टिगोरभन्दा सानो ह्याचब्याक ईभी बजारमा ल्याएसँगै टाटाको ईभी बिक्रीमा उछाल नै आयो । टियागो ह्याचब्याक कार ईभीको रूपमा आएको एक वर्षको समयमा झण्डै १ हजार ७०० युनिट बिक्री भयो । यसले ह्याचब्याक सेग्मेन्टलाई मात्रै उठाएन सिप्रदीलाई कम मूल्यका ईभीमा वादशाह नै बनायो ।

टाटाको योजना र सिप्रदीको रफ्तार यत्तिमा रोकिने वाला थिएन । त्यसैले गत भदौमा पन्च ईभी बजारमा प्रवेश गर्यो । पन्च ईभीले माइक्रो एसयूभी सेग्मेन्टमा प्रवेश गरेको कारण बजारमा नयाँ किसिमको तरङ पैदा गर्न सफल भयो । पन्चको बिक्री अहिले पनि रफ्तार मै देखिन्छ ।

ईभीको सहायताले झण्डै ७ हजार युनिट ईभी बिक्रीको कोसेढुङ्गा भेट्टाउन लागेको सिप्रदीले नेक्सन ईभीको नयाँ फेसलिफ्ट मोडल र कर्भ ईभी गरेर दुई मोडल एक साथ बजारमा ल्यायो । यसले समग्र इलेक्ट्रीक कारको बजारमा सिप्रदीले निकै ठूलो सफलता हात लगायो ।

गाडीको गुणस्तर र मूल्यको कारणले मात्रै सिप्रदीले सफलता पाएको होइन । सिप्रदीको सफलताको पछाडि उसको बलियो बिक्री केन्द्र, फराकिलो सर्भिस नेटवर्क, सहजै स्पेयर पार्टस् उपलब्ध हुनु र बलियो चार्जिङ स्टेशन निर्माण भएकाले टाटाका विद्युतीय कारहरू नेपालमा सफल भएका हुन् ।

कति छन् सर्भिस सेन्टर र चार्जिङ नेटवर्क ?

सिप्रदीले देशका विभिन्न सहरका २० स्थानमा सर्भिस सेन्टर चलाइरहेको छ । जहाँ विद्युतीय कारको दक्ष जनशक्तिबाट सर्भिस सुविधा उपलब्ध छ । उपभोक्ताको आवश्यकतालाई मध्येनजर गर्दै कम्पनीले सर्भिसको विभिन्न प्याकेज पनि उपलब्ध गराएको छ । जहाँ २ वर्षसम्मको सर्भिस स्कीम उपभोक्ताले पाउने छन् ।

चार्जिङ नेटवर्क विस्तारमा पनि टाटा निकै अगाडि देखिन्छ । कम्पनीले अहिलेसम्म देशका विभिन्न ३२ स्थानमा डीसी चार्जर संचालन गरिरहेको जनाएको छ । साथै, १५० स्थानमा एसी चार्जर जडान गर्दै आएको छ ।

सहजै स्पेयर पार्टस् उपलब्ध गराउँदै आएको सिप्रदीले आफ्नो मुख्य फोकस नै सर्भिसलाई बनाएर काम गर्दै आएको देखिन्छ ।


Back_to_top