रिचार्जेबल ब्याट्री उद्योगबाट ग्लोबल लिडर बन्न सफल बीवाइडी, ३० हजार प्याटेन्ट राइट हातमा

काठमाडौं । बीवाइडी नेपाली अटोमोबाइल बजारमा अपरिचत नाम होइन् । यो इलेक्ट्रीक भेहिकल (ईभी)को पर्यावाचीभन्दा फरक पर्दैन । नेपालको सडकमा हाल २५ हजार बढी ईभी  गुड्छन् । जसमा एकचौथाई हिस्सा बीवाइडीको रहेको छ । नेपालमा बीवाइडीका कार साइमेक्स इंकले बिक्री गर्दै आएको छ ।

विश्व परिवेशमा बीवाइडी न्यू इनर्जी भेहिकल (बीईभी र पीएचईभी)मा ग्लोबल लिडर हो । यो ग्यासोलिन सवारीको भरपर्दो विकल्प हो । जसले गत एकवर्षमा मात्रै ४३ लाख युनिट न्यू इनर्जी भेहिकल बिक्री गरेर आफूलाई पुष्टि समेत गरिसकेको छ । बीवाइडीका कारमा प्रयोग भएका प्रविधि, फिचर्स र मूल्यका कारण रोजाइमा पर्न सफल भएको देखिन्छ ।

बीवाइडी विश्व अटो क्षेत्रमा स्थापित हुनुमा कयौं पाटाहरू छन् । जसका केही पाटा हामीलाई थाहा छ भने केही थापा पाउनै बाँकी छ ।

हालै मैले पनि बीवाइडीको चीनकाे शेन्जेनस्थित म्युजियम, प्लाण्ट, एक्सपिरियन्स सेन्टर लगायत अवलोकन गर्ने अवसर पाएको थिएँ । जहाँ आफूले संचार माध्यममा देखेका, सधैं लेख्ने गरेका समाचारभन्दा केही फरक अनुभूति गरेँ । बीवाइडीको म्युजियममा स्थापनादेखि हालसम्मको यात्राको सदृश्य वर्णन गरिएको छ । बीवाइडीको पहिलो हेडक्वाटर रहेको  दुईवटा भवनमा बीवाइडीको सुरुवाती कार्यालयदेखि पहिलो ब्याट्री उत्पादन, पहिलो मोडलको गाडी तथा पछिल्लो समय विकास भएका सबै वस्तुहरूलाई क्रमिक रूपमा राखिएको रहेछ ।

म्युजियमको भ्रमणपछि बीवाइडीका चियरम्यान वाङ चियानफुको भिजन तथा न्यू इनर्जी टेक्नलोजीमा उनको लगावको बारे छर्लङ बुझिन्छ । उनको ‘कुल द अर्थ वाई वान डिग्री’ मिसनमा बीवाइडी कसरी अगाडि बढेको छ भन्ने बीवाइडीका रिन्युएबल इनर्जी विकासमा गरेकोे लगानीबाट देखिन्छ । बीवाडीको म्युजियम भ्रमणपछि थाहा पाएका केही कुरा यहाँ उल्लेख गरेको छु ।

बीवाडडी अटो उत्पादक मात्र होइन

बीवाइडी एक ईभी उत्पादक मात्र नभई रेलट्रान्जिट, सोलार प्यानल, सेमी कन्डक्टर तथा लिथियम आयोन ब्याट्री समेत उत्पादन गर्छ । बीवाइडी ईभीको हाइ भोल्टेज ब्याट्रीको मार्केट सेयरमा विश्वको दोस्रो ठूलो कम्पनी हो । कम्पनीले पछिल्लो समय चर्चामा रहेको ब्लेड ब्याट्री एकदमै सुरक्षित तथा हाइडेन्सिटी भएको ब्याट्री मानिन्छ ।

बीवाइडीको व्यवसाय मुख्य ४ भर्टिकलमा रहेको छ । कम्पनीले इलेक्ट्रोनिक्स, अटोमोबाइल, न्यू इनर्जी तथा रेलट्रान्जिटमा कार्य गरिरहेको छ । विश्वको ठूला कम्पनी मापन गर्ने ग्लोबल फर्चुन ५०० कम्पनीमा पर्ने  बीवाइडीको र्याङकिङ सन् २०२४ मा १४३ औं स्थानमा रहेको छ ।

रिचार्जेबलबाट ब्लेड ब्याट्रीसम्म

सन् १९९४ नोभेम्बर १८ मा रिचार्जेबल ब्याट्री उत्पादक कम्पनीको रूपमा स्थापना भएको कम्पनीले प्रविधिमा छलाङ मार्दै ब्लेड ब्याट्री उत्पादनसम्म पुगेको छ । सुरूवातमा एनसीएम केमेस्ट्रीको ब्याट्री उत्पादन गरेको बीवाइडीले २ वर्षपछि (सन् १९९६)मा अझ सुरक्षित लिथियम आयोन केमेस्ट्रीको ब्याट्री उत्पादन थाल्यो ।

कम्पनीले सन् २००० देखि अमेरिकी मल्टिनेसनल टेलिकम्युनिकेसन कम्पनी मोटोरोलाई ब्याट्री सप्लाई गरेको थियो । त्यस्तै, सोही वर्ष चर्चित मोबाइल कम्पनी नोकियाले पनि बीवाइडीको लिथियम आयोन ब्याट्री प्रयोग सुरू गरेको थियो ।

सन् २००० मै कम्पनीले सेमिकण्डक्टर इन्डष्ट्री सुरू गर्नुको साथै हङकङ स्टक एक्सचेन्ज लिस्टिङ समेत भएको थियो । कम्पनीले सन् २०२० मा नयाँ प्रविधिको ब्लेड ब्याट्री विकास गरेको थियो । जुन अहिले अटोमोबाइल क्षेत्रको लाइम लाइटमा स्थापित भएको छ ।

आफ्नो यात्राको ३ दशकमा बीवाइडीले आफूलाई  टेक्नलोजी पुलको रूपमा उभ्याएको छ । कम्पनीले ब्लेड ब्याट्री, फोर्थ जेनेरेशन डीएम सुपर हाइब्रिड टेक्नलोजी, इप्ल्याटफर्म ३.०, सीटुबी (सेल टु बडी) टेक्नलोजी, ईफोर प्ल्याटफर्म, डिसुस इन्टेलिजेन्ट बडी कन्टोल सिस्टम जस्ता ग्राउण्ड ब्रेकिङ टेक्नलोजीहरू विकास गरेको छ ।

यही क्रममा कम्पनीले हालै आफ्ना सबै मोडलमा थप मूल्य नबढाइकनै एड्भान्स डाइभर असिस्ट सिस्टम ‘गड्स आई’ प्रयोगमा ल्याएको छ । त्यस्तै, कम्पनीले १ हजार भोल्ट आर्किटेक्चरको नयाँ  सुपर ई प्ल्याटफर्म लन्च गरेको छ । यसले ५ मिनेटमै ४०० किलोमिटरको रेन्ज दिने रिचार्ज सिस्टम ल्याएर सबैलाई चकित पारेको छ ।

ढिलो प्रवेश, रफ्तारमा प्रगति

बीवाइडी स्थापनाको १० वर्षपछि मात्रै अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको थियो । तर, गाडी उत्पादनको २ दशकमै कम्पनी न्यू इनर्जी भेहिकलमा ग्लोबल लिडर बन्न पुगेको छ । हाल कम्पनीले चार विभिन्न ब्राण्डमा विभिन्न मोडलका ईभी तथा प्लगइन हाइब्रिड गाडीहरू उत्पादन गर्छ ।

सन् २००३ मा बीवाइडीका अध्यक्ष वाड चियानफुले सियान किन्चुवान अटोमोबाइल कम्पनी खरिद गरि सन् २००५ देखि गाडी उत्पादन थालेका थिए । कम्पनीले आफ्नो पहिलो मोडलको रूपमा एफथ्री पेट्रोल कार उत्पादन गरेको थियो ।

सन् २००८ मा विश्व प्रसिद्ध लगानीकर्ता वारेट बफेटले १० प्रतिशत सेयर खरिद गर्दै नयाँ लगानीकर्ताको रूपमा भित्रिए । सोही वर्ष कम्पनीले विश्वको पहिलो ड्युल मोटर भएको हाइब्रिड कार एफथ्री डीएम लन्च गरेको थियो ।

विश्व बजारमा आफ्नो प्रभुत्व बढाउन कम्पनीले सन् २०१३ मा उत्तर अमेरिकामा इलेक्ट्री बस तथा आयोन फस्फेट ब्याट्री फ्याक्ट्रीको स्थापना गर्यो । सोही वर्ष कम्पनीले डाइनेस्टी सिरीजको क्विन मोडल लन्च गरेको थियो ।  कम्पनीले फ्याक्ट्री स्थापना भएको एकै वर्षमा सन् २०१४ मा पहिलो अमेरिका मेड ईबस रोलआउट गर्न सफल भयो । कम्पनीले सोही वर्ष ब्राजिलमा फ्याक्ट्री स्थापना गर्दै पहिलो डेन्जा मोडल लन्च गरेको थियो । बीवाइडीले सन् २०१४ मै चीनमा विश्वको ठूलो ईभी चार्जिङ स्टेशन समेत लन्च गरेको थियो ।

प्रविधिमा फड्को मार्ने क्रममा कम्पनीले सन् २०१८ मा डीएम ३.०, ई प्ल्याटफर्म तथा आईजीबीटी ४.० चिप्स लन्च गरेको थियो । सन् २०१९ मै इप्ल्याटफर्मको सेकेण्ड जेनेरेशन सार्वजनिक गरेको थियो ।

कम्पनीले सन् २०२१ मा इलेक्ट्रीक प्ल्याटफर्मको तेस्रो जेनेरेशन इप्ल्याटफर्म ३.० लन्च गर्दै आफूलाई न्यू इनर्जी भेहिकलमा अग्रणीको रूपमा उभ्याएको थियो । न्यू इनर्जी भेहिकललाई प्रोत्साहन गर्न कम्पनीले सन् २०२२ देखि ग्यासोलिन भेहिकल उत्पादन नै बन्द गरेको थियो । कम्पनीले हाल ब्याट्री इलेक्ट्रीक र प्लगइन हाइब्रिड टेक्नलोजीको भेहिकल मात्र उत्पादन गर्दै आएको छ ।

सन् २०२३ मा कम्पनीले नयाँ टेक्नलोजीको ड्युल मोड अफरोड (डिएमओ) प्ल्याटफर्म, ४ वटा मोटर भएको हाइ प्रफर्मेन्स ई४ प्ल्याटफर्म तथा डिसुस इन्टेलिजेन्स बडि कन्ट्रोल सिस्टम जस्ता नयाँ टेक्नलोजी लन्च गर्यो । कम्पनीले यही महिना १ हजार भोल्ट आर्किटेक्चर सुपर ई प्ल्याटफर्म लन्च गरेको छ । यसमा डीसी फास्ट चार्जरले ५ मिनेटमा चार्ज गर्दा ४०० किलोमिटरको रेन्ज थप्न सकिने कम्पनीको दाबी छ । कम्पनीले गत वर्ष मात्रै १ करोड गाडी उत्पादनको माइलस्टोन पूरा गरेको छ ।

बीवाइडीले आफ्नै ब्याट्री, मोटर, सस्पेन्सन सिस्टम विकास गरेको छ । कम्पनीले टायर, स्टीलका पाता र विण्डोको ग्लास बाहेक सबै कम्पोनेन्ट आफैं उत्पादन गर्छ ।

अनुसन्धानमा अर्बौं लगानी

बीवाइडी अनुसन्धान र नवीतम प्रविधि विकासकै कारण आफूलाई ग्लोबल लिडरमा उभ्याएउन सफल भएको हो । जसका लागि कम्पनीले अर्बौं रुपैयाँ लगानी गर्दै आएको छ ।

सन् २०२३ मा मात्रै कम्पनीले रिसर्च एण्ड डेभलपमेन्टमा ४० अर्ब चिनियाँ युआन लगानी गरेको थियो भने २०२४ मा बढाएर ५२.५ अर्ब पुर्याएको थियो । आगामी वर्षहरू पनि यस्तो लगानी बढाउँदै लैजाने कम्पनीको योजना छ ।

रिसर्चकै लागि मात्रै कम्पनीमा १ लाख २५ हजार बढी जनशक्ति छन् । बीवाइडीले विश्वभरिमा ४८ हजार प्याटेन्टका लागि आवेदन दिएको छ । जसमा ३० हजार प्याटेन्ट राइट बीवाइडीले पाइसकेको छ ।

कम्पनीका अध्यक्ष वाङ चुआनफुका अनुसार कम्पनीले बजारको माग अनुसार लन्च गर्न सयौं टेक्नलोजी तयारी अवस्थामा राखेको छ ।

२० जनाबाट सुरू, ९ लाख भन्दा धेरै  कर्मचारी

सन् १९९४ नोभेम्बर १८ मा स्थापना हुँदा बीवाइडीले २० जना कर्मचारीबाट आफ्नो यात्रा सुरू गरेको थियो । ३१  वर्षको यात्रामा कम्पनीको कर्मचारी संख्या ९ लाख नाघेको छ ।

कम्पनीले इनोभेसन र रिसर्चलाई पहिलो प्राथमिकतामा राखेको छ । जसका लागि मात्रै १ लाख २५ हजार विशेषज्ञ तथा इन्जिनियरहरूले काम गरिरहेका छन् । त्यस्तै, मार्केटिङ, प्रशासन, उत्पादन, बिक्रीमा लाखौं संख्यामा कर्मचारी छन् ।


Back_to_top