बन्दै हुन्डाईको सानो इलेक्ट्रीक एसयूभी, नेपालको लागि किन छ खास ?

काठमाडौं । दक्षिण कोरियाली कम्पनी हुन्डाईले चार मिटरभन्दा छोटो साइजको एसयूभी तीव्र रूपमा परीक्षण गरिरहेको तस्बिरहरू बाहिर आएका छन् । भारतमा उत्पादन हुने सानो इलेक्ट्रीक एसयूभी नेपालको लागि पनि निकै रोचक हुने देखिन्छ ।

सन् २०२७ मा बजारमा ल्याउनेगरी हुन्डाईले सानो एसयूभीको तयारी गरिरहेको छ । कम्पनीले सन् २०३० सम्ममा ल्याउने २६ नयाँ मोडल मध्येको एक मोडल यो सब कम्प्याक्ट इलेक्ट्रीक एसयूभी हुनेछ । सम्भवतः अहिले नेपालमा पनि हुन्डाईले बिक्री गरिरहेको एक्सटर एसयूभीको साइजमा नयाँ ईभी उपलब्ध हुनेछ ।

हुन्डाईले ‘एचइवानआई’ कोड नेम दिएर विकास गरिरहेको सानो एसयूभीले टाटा पन्च ईभीसँग प्रतिस्पर्धा गर्नेछ । तर, हुन्डाईको नयाँ ईभी पूर्णतया प्योर ईभी प्लेटफर्ममा आधारित रहनेछ ।

अहिले दक्षिण कोरियामा परीक्षणको क्रममा देखिएको ईभीका बारे धेरै अनुमान लगाउन सकिने अवस्था बनेको छ । अग्लो र बक्सी डिजाइनमा देखिएको नयाँ एसयूभीको बडी प्रोफाइल भने इन्स्टर ईभीसँग मिल्दोजुल्दो देखिन्छ । ग्रिलको माथिल्लो भागमा एलईडी डिआरएल, बम्परको माथि दिइएको स्प्लीट हेडल्याम्प, क्लोजअफ ग्रिल, रुफरेल्स, बडी क्लाडिङ र स्पोर्टी अलोय ह्वील देखिएको छ ।

हुन्डाईले नयाँ इलेक्ट्रीक कारमा १७ इन्चको ह्वील दिएको छ । ह्वीलको डिजाइन निकै आकर्षक देखिन्छ । पिक्सेल स्टाइल लाइटिङ एलिमेन्ट प्रयोग हुने अनुमान गरिएको एसयूभीको टेक्नीकल पाटोका बारेमा कुनै जानकारी बाहिर ल्याइएको छैन ।

आधुनिक र मोर्डन टेक फिचरको लामो लिस्ट रहने अनुमान गरिएको हुन्डाईको नयाँ ईभीमा १०.२५ इन्चको दुई स्क्रीन रहनेछन् । कारमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, भ्यान्टिलेटेड सिट, सनरुफ जस्ता फिचर रहने छन् ।

सुरक्षामा पनि अब्बल सावित हुनेगरी नयाँ इलेक्ट्रीक एसयूभी आउने अनुमान गरिएको छ । यसमा सुरक्षाको लागि कम्तीमा ६ एयरब्याग रहनेछ । साथै, लेभल २ एडास फिचर उपलब्ध हुने एसयूभीमा ३६० डिग्री क्यामेरा, पार्किङ क्यामेरा, पार्किङ अस्सिट रहनेछ ।

हुन्डाईले १२० किलोवाट क्षमतासम्मको डीसी चार्जर सपोर्ट गर्नेगरी नयाँ एसयूभी ल्याउने बताइएको छ । कम्पनीको मोडिफाइड (ई-जीएमपी के)’ प्लेटफर्ममा आधारित रहेर नयाँ मोडल ल्याउन लागेको हो ।

नेपालको लागि हुन्डाईको सब फोर मिटर एसयूभी खास हुन सक्ने देखिन्छ । चिनियाँ उत्पादनसँग सिधा प्रतिस्पर्धा गर्न कठिन भइरहेको समयमा आउने सानो एसयूभीले नेपालमा हुन्डाईको बजारमा बिस्तारमा थप सहयोग गर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top