ईभी चलाउँदा गर्ने ७ सामान्य गल्ती, हुन सक्छ लाखौंको आर्थिक क्षति

काठमाडौं । विद्युतीय सवारीको बिक्री तीव्र गतिमा भइरहेको छ । खासगरी नेपाल जस्तो अन्यदेशबाट किनेर ल्याउनु पर्ने पेट्रोलियम पदार्थमा निर्भर देशको लागि ईभी उपयोगी यातायातको साधन बन्दै जाँदा बिक्री बढेको हो ।

यसका अलावा दैनिक सञ्चालन खर्च कम, सरल मर्मत र सरकारी प्रोत्साहनका कारण हजारौं नयाँ चालक ईभीमा आकर्षित भएका छन् । उनिहरुले ईभीको प्रयोग थालेपनि बानी भने पेट्रोल/डिजेल गाडी चलाउँदैको नै लागेको देखिन्छ ।

अटोमोबाइल क्षेत्रका जानकार प्राविधिकहरूका अनुसार ईभीमा हुने धेरै समस्या प्रयोगकर्ताको दैनिक बानीसँग सम्बन्धित हुन्छ । गलत चार्जिङ, असुरक्षित विद्युतीय जडान, ब्याट्रीको गलत प्रयोग र नियमित निरीक्षण नगर्ने बानीले आर्थिक क्षती भइरहेको छ ।

चालकका यस्ता बानीको कारण लाखौं रुपैयाँ पर्ने ब्याट्री र मोटरको आयु घटाउने काम भएको छ । त्यति मात्र होइन, आगलागी वा विद्युत् दुर्घटनाको जोखिम पनि बढेको छ । हामीले एकाध सुनेका आगलागीका घटना पनि गाडीधनीको चरम लापरवाहीले भएको हो ।

त्यसैले यहाँ चालकले ईभी चलाउन थाल्नु अघि वा नियमित प्रयोग थाल्नुअघि जान्नु पर्ने कुराहरूलाई हामीले यहाँ चर्चा गरेका छौं ।

१. ब्याट्रीलाई बारम्बार शून्य प्रतिशतसम्म चलाउने

विद्युतीय साधनको मुटु नै ब्याट्री हो । तर, ईभी चालकले मोबाइल फोनजस्तै ब्याट्री सकिएपछि मात्र चार्ज गर्ने गरेको हामीले देखेका छौं । यसलाई बेलैमा नसुधार आर्थिक नोक्सानी बढाउने सम्भावना धेरै रहन्छ ।

लिथियम आयन ब्याट्रीलाई शून्य लेभलमा बारम्बार पु¥याउँदा दीर्घकालीन क्षमता घट्न सक्छ । सामान्य दैनिक प्रयोगमा २०-८० प्रतिशतको दायराभित्र राख्नु ब्याट्री स्वास्थ्यका लागि उपयुक्त मानिन्छ ।

२. दैनिक १०० प्रतिशत चार्ज गर्ने बानी

धेरै नेपाली चालक बिहान ‘फुल चार्ज’ भएर मात्र गाडी निकाल्न चाहन्छन् । एकाध सयम १०० प्रतिशत चार्ज गरेर यात्रामा निस्कनु खराब होइन । तर, सधैँ १०० प्रतिशतसम्म चार्ज गर्दा दुर्घटनाको जोखिम पनि बढाउँछ । फुल चार्ज भएको अवस्थामा ओरालो बाटोमा ईभी चलाउनु पर्ने अवस्था भए रिजेनेरेटिभ ब्रेकको कारण ब्रेकमा दबाब पर्छ ।

त्यसैगरी लामो समयसम्म नियमित १०० चार्ज गर्दा ब्याट्रीमा अतिरिक्त रासायनिक दबाब पर्न सक्छ । त्यसैले धेरै कम्पनीहरूले दैनिक प्रयोगका लागि चार्ज लिमिट प्रयोग गर्न सुझाव दिन्छन् ।

३. नियमित डीसी फास्ट चार्जरको प्रयोग

नेपालमा राजमार्ग तथा सार्वजनिक स्टेशनमा पुगेपछि धेरै चालक सकेसम्म फास्ट चार्ज गर्न खोज्छन् । त्यो स्वभाविक पनि हो । यात्रामा निस्कँदा सबैलाई हतारो नै हुन्छ ।

नियमित फास्ट चार्जर प्रयोग गर्न मिल्छ वा मिल्दैन भन्ने विषय चाहिँ अहिले पनि प्रस्ट छैन । त्यसैले धेरै गाडी बिक्रेताले नियमित डीसी चार्जर प्रयोग नगर्न सुझाव दिन्छन् । डीसी चार्जरले ब्याट्रीमा बढी ताप उत्पन्न हुने भएकाले दीर्घकालीन असर पर्ने धेरैको बुझाइ छ ।

४. कमजोर वायरिङ वा सामान्य प्लगबाट चार्ज गर्नु

धेरै जसो ईभीमा आगलागीको घटना यहीबाट सुरू भएको छ । नेपालमा पनि कमजोर प्लग वा वाइरिङको कारण आगलागी भइसकेको छ । कम गुणस्तरको एक्स्टेन्सन बोर्ड, कमजोर वायरिङ वा असुरक्षित अर्थिङ प्रयोग गर्दा सर्ट सर्किट हुने खतरा रहन्छ ।

त्यसैले गाडीधनी वा चालकले चार्जिङ उपकरण निर्माता कम्पनीले सिफारिस गरेको जडान र प्रमाणित चार्जर प्रयोग गर्नु आवश्यक हुन्छ ।

५. पानी, बाढी वा दुर्घटनापछि गाडीको निरीक्षण

गाडी चलाएर घर लाने र थन्क्याउने मात्रै गर्ने बानी रहेका चालकले ईभी चलाउँदा थप होसियार बन्नु पर्छ । मनसुनका बेला नेपालमा धेरै क्षेत्रमा डुबान हुने भएकाले ईभी प्रयोगकर्ताले विशेष सावधानी अपनाउनुपर्छ । गहिरो पानीमा डुबेको वा दुर्घटनामा परेको ईभीलाई प्राविधिक निरीक्षण नगरी पुनः चार्ज गर्नु वा चलाउनु जोखिमपूर्ण हुन सक्छ । ब्याट्री प्याक वा उच्च भोल्टेज प्रणालीमा क्षति पुगेको छ वा छैन भन्ने जाँच आवश्यक हुन्छ ।

६. आक्रामक ड्राइभिङ

बारम्बार तीव्र एक्सिलरेसन, अत्यधिक गति र लगातार कडा ब्रेकिङले ऊर्जा खपत मात्र बढाउँदैन, ब्याट्री र मोटरमा अतिरिक्त ताप पैदा गर्छ । त्यसैले सडकको अवस्था र ड्राइभिङ सहजता अनुसारको ड्राइभ मोड छानेर स्मुद एक्सेलिरेसन गर्नु पर्छ । यसले रेन्ज बढाउछ भने ब्रेकको आयुसमेत लम्ब्याउनेछ ।

७. नियमित जाँचलाई बेवास्ता

ईभीहरू सफ्टवयरमा आधारित सवारी साधन हुन् । धेरै कम्पनीले समय-समयमा ब्याट्री व्यवस्थापन सिस्टम, चार्जिङ र सुरक्षा फिचरमा अपडेट गर्छन् । त्यसलाई दुरुस्त राख्न बेलाबखत सर्भिस सेन्टरसँग सम्पर्क गरेर गइराख्नु पर्छ ।


Back_to_top