हुन्डाईको कारमा अब कीटाणु मार्ने क्याबिन लाइट

काठमाडौं । कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले थुप्रै आधुनिक प्रविधिहरू आविष्कार गरेको छ । कम्पनीले आफ्ना कारलाई आधुनिक, प्रिमियम र सुरक्षित बनाउन भरपूर प्रविधिको प्रयोग गर्दै आएको छ ।

यसैक्रममा, हुन्डाई र कियाले गाडीभित्रको वातावरणलाई पूर्ण रूपमा सफा, सुरक्षित र कीटाणुरहित बनाउन नयाँ प्रविधि विकास गरेका छन् । कम्पनीले गाडीको क्याबिन भित्र गुडिरहेकै अवस्थामा पनि कीटाणु र भाइरस मार्न सक्ने अत्याधुनिक ‘प्लाज्मा केयर यूभीसी प्रणाली सार्वजनिक गरेको हो।

यो प्रविधिको गाडीभित्र बस्ने मानिसलाई कुनै पनि हानि नगरी हानिकारक ब्याक्टेरिया र भाइरसहरू नष्ट गर्छ । हुन्डाईले आफ्ना नयाँ मोडेलहरू प्यालिसेड र सान्टा फेमा यसअघि नै मोबाइल र साना उपकरण सफा गर्न कम्पार्टमेन्ट भित्र साधारण यूभीसी लाइट प्रयोग गर्दै आएको थियो ।

साधारण यूभीसीको सम्पर्कमा आउनु मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसको तरंगको लम्बाइ (वेभलेन्थ) २५४ नानोमिटर हुन्छ । जुन मानव छाला र आँखाका कोषहरू भित्र सजिलै प्रवेश गर्न सक्छ । कोषहरूमा क्षति पुर्याउनुका साथै क्यान्सरको जोखिम बढाउन सक्छ । यही समस्यालाई समाधान गर्दै हुन्डाईले अहिले फार यूभीसी’ प्रविधिको प्रयोगमा ल्याएको हो । हुन्डाईले पूरै क्याबिन क्षेत्रलाई समेट्न सक्ने अझ व्यापक स्यानिटाइजेसन प्रणाली बनाउने लक्ष्य राखेको छ।

फार यूभीसीको तरंगको लम्बाइ छोटो (२०० देखि २३० नानोमिटर) हुन्छ । यो प्रकाशले मानिसको छाला वा आँखाको आँसुको तहलाई समेत भेट्न सक्दैन । जसले छाला काटिएको अवस्थामा पनि मानव शरीरलाई कुनै असर गर्दैन। तर, कीटाणुहरूको हकमा भने यो निकै घातक हुन्छ । तिनीहरूको डीएनए र आरएनए संरचना नै नष्ट गरिदिन्छ।

यो प्रविधि आफैंमा नयाँ नभए तापनि यसलाई गाडीमा काम गर्ने बनाउनका लागि केही परिमार्जनहरू आवश्यक थिए । कम्पनीले गाडीको कम्पन, तापक्रमको उतारचढाव र कठिन सवारी अवस्था सहन सक्ने गरी यो प्रणालीलाई अझ बलियो बनाएको हो । यो सेटअपले गाडीको पावर सप्लाई (ब्याट्री) लाई धेरै भार नपार्ने सुनिश्चित समेत गरेको थियो ।

यस प्रणालीको प्रयोग गरी गरिएका स्यानिटाइजेसन परीक्षणहरूले निकै प्रभावशाली नतिजाहरू देखाएका छन्। प्लाज्मा केयर यूसीभी प्रणालीले मात्र ३० मिनेटमा हावामा तैरिने ९६.८ प्रतिशत भाइरसहरू मार्न सफल भएको थियो । निमोनिया गराउने ब्याक्टेरिया मार्न झनै प्रभावकारी भएको छ । मात्र ३० सेकेण्डमा करिब ९९.९ प्रतिशत ब्याक्टेरियाहरू सखाप पारेको थियो । ६० सेकेण्डसम्मको सम्पर्कमा १०० प्रतिशत ब्याक्टेरिया नष्ट भएको पाइयो। यो प्रणाली एस्चेरिचिया कोलाई ब्याक्टेरिया विरुद्ध पनि प्रभावकारी पाइयो । जसले करिब ४० मिनेटमा ९९.९ प्रतिशत ब्याक्टेरिया नष्ट गरेको थियो । यो प्रविधिले कीटाणु मार्ने मात्र नभई गाडीभित्र आउने कडा र पुराना दुर्गन्धहरूलाई समेत रासायनिक रूपमा टुक्राएर हटाउने छ ।

हुन्डाई र कियाले यो प्रविधिलाई सुरूमा विशेष कामको लागि निर्माण गरिने गाडीहरू (जस्तै आगामी ‘किया पीभी ५) मा प्रयोग गर्ने योजना बनाएका छन् । निकट भविष्यमा यसलाई स्कुल बस, डेलिभरी भ्यान, ट्याक्सी, रोबोट्याक्सी जस्ता धेरै यात्रु बोक्ने सवारी साधनहरूमा व्यापक रूपमा प्रयोग गर्न सकिने छ ।

यो प्रविधि उत्पादनका लागि तयार भइसके पनि व्यावसायिक गाडीहरूमा कहिलेदेखि अनिवार्य रूपमा उपलब्ध हुनेछ भन्नेबारे कम्पनीले आधिकारिक मिति घोषणा गरेको छैन ।


Back_to_top