उपत्यकाका रुटलाई तीन तहमा विभाजन गर्न प्रस्ताव, भित्रि सहरमा ईभी मात्र

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका सार्वजनिक सवारी साधन संचालन हुने रुटलाई ३ वर्गमा वर्गीकरण गर्न प्रस्ताव गरिएको छ । ‘काठमाडौं दिगो सहरी यातायात आयोजना’ (केएसयूटीपी) अन्तर्गत तयार पारिएको प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो ।

सन् २०१४ मा तयार भएको उक्त प्रतिवेदन पूर्वाधार विकास मन्त्रालयले हालै सार्वजनिक गरेको छ । मन्त्रालयले उक्त प्रतिवेदनमा उल्लेख भएका विषय समायानुकुल परिमार्जन गर्ने कार्यान्वयन गर्ने भएको छ ।

मन्त्रालयले काठमाडौं उपत्यकाको अस्तव्यस्त सार्वजनिक यातायातलाई आधुनिक, व्यवस्थित र वातावरणमैत्री बनाउन बृहत् पुनर्संरचना योजना अघि सारेको हो । मन्त्रालयले एसियाली विकास बैंक र ग्लोबल इन्भाइरोन्मेन्ट फ्यासिलिटीको सहयोगमा यो योजना सुरु गरेको हो ।

प्रतिवेदनमा काठमाडौं उपत्यकामा सार्वजनिक यातायात क्षेत्रका समस्या र समाधानको उपाय उल्लेख गरिएको छ । उपत्यकामा धेरै साना सवारी, कमजोर नियमन, दोहोरो रुट, न्यून गुणस्तरको सेवा, बस ट्रमिनल अभाव लगायत प्रमुख समस्या रहेका छन् ।

प्रतिवेदनले उपत्यकामा हाल कायम २०० पुराना रुटलाई खारेज वा परिमार्जन गरी ३ श्रेणीमा वर्गीकरण गर्न सुझाव दिएको छ । प्रतिवेदन अनुसार उपत्यकामा सार्वजनिक सवारी रुटलाई प्राथमिक, माध्यमिक र तृतीयक गरी तीन श्रेणीमा विभाजन गरिनेछ । जहाँ फरक फरक साइजका सवारी संचालन गर्ने प्रस्ताव गरिएको छ ।

प्रतिवेदन अनुसार अत्यधिक यात्रु चाप हुने मुख्य सडकहरूलाई ‘प्राथमिक रुट’मा राखिएको छ । यसअन्तर्गत चक्रपथ, महाराजगञ्ज-लाजिम्पाट-रत्नपार्क-सातदोबाटो, नारायणगोपाल चोक-रत्नपार्क-सूर्यविनायक, जोरपाटी-बौद्ध-चाबहिल-कमलपोखरी-नैकाप, जोरपाटी-गौशाला-त्रिपुरेश्वर-एकान्तकुना, कोटेश्वर-एयरपोर्ट-चाबहिल-नयाँ बसपार्क, कोटेश्वर-तीनकुने-माइतीघर-कलंकी रुट पर्छन् । यी रुटमा १२ देखि १८ मिटर लामा ठूला बस संचालन गर्नुपर्ने उल्लेख छ । साथै, यी रुटमा बसलाई प्राथमिकता दिन छुट्टै ‘बस लेन’ को व्यवस्था गरिने रणनीति लिइएको छ । यी रुटका लागि ८० यात्रु क्षमता भएका ४६७ बस आवश्यक पर्ने बताइएको छ ।

विभिन्न उपनगरीय क्षेत्रहरूलाई सहरको मुख्य केन्द्र वा प्राथमिक रुटको इन्टरचेञ्जसम्म जोड्ने सडकलाई ‘माध्यमिक रुटमा राखिएको छ । यसमा बुढानीलकण्ठ-नारायणगोपाल चोक, बालुवाटार-पुतलीसडक-कोटेश्वर, कीर्तिपुर-बल्खु-त्रिपुरेश्वर-चप्पल कारखाना, नयाँ बसपार्क-गोंगबु-ठमेल-रत्नपार्क-एयरपोर्ट, गोकर्ण-बौद्ध-पुरानो बानेश्वर-तीनकुने, नगरकोट-कोटेश्वर, साँगा-कोटेश्वर, सिस्नेरी-सातदोबाटो, गोदावरी-सातदोबाटो, र चापागाउँ-सातदोबाटो लगायत रुट पर्छन् । यी रुटमा ९ देखि १० मिटरका मझौला बस संचालन गर्ने योजना छ । जसका लागि ४३७ बस आवश्यक पर्ने उल्लेख गरिएको छ ।

भित्री बस्ती र साँघुरा सडकहरूमा ‘फिडर’ सेवा प्रदान सडकहरूलाई ‘तृतीय रुट’मा राखिएको छ । उपत्यकाका ४० बढी सडकलाई यो रुट अन्तर्गत राखिएको छ । उपत्यकाका ४० बढी सडकलाई यो रुट अन्तर्गत राखिएको छ । यसअन्तर्गत लुभु-कोटेश्वर, लेले-सातदोबाटो, रानीपौवा, धर्मस्थली, फुटुङ, टोखा, धापासीबाट नयाँ बसपार्क जोड्ने रुट, कपन-चाबहिल, साखु-जोरपाटी, रामकोट-रत्नपार्क, इचंगु-टेकु जस्ता रुटहरू रहेका छन् । जहाँ साना सवारी र विशेषगरी विद्युतीय टेम्पोहरूलाई प्राथमिकता दिइनेछ ।

भित्रि ऐतिहासिक सम्पदा क्षेत्रमा भने विद्युतीय सवारी मात्र संचालन गर्न प्रस्ताव गरिएको छ । सोह्रखुट्टे-न्यूरोड-दरबार स्क्वायर क्षेत्र, लगनटोल क्षेत्रमा पैदलयात्रीको सहजताका लागि साना विद्युतीय सवारी मात्र संचालन गरिने योजना छ ।


Back_to_top