९ दिनपछि सार्वजनिक हुँदै हुन्डाई सेन्ट्रो, कति पर्ला मूल्य ?

काठमाडौं । हुन्डाई मोटरले अगस्ट २३ मा सार्वजनिक गरेको अल न्यू सेन्ट्रो नेपाली बजारमा आउने पक्का भएको छ । हुन्डाईको नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले सेन्ट्रो नेपाली बजारमा फागुन २ गते सार्वजनिक गर्न लागेको हो ।

‘हामीले नयाँ सेन्ट्रो सार्वजनिक गर्ने तयारी गरेका छौं, यदी कुनै समस्या नआउने हो भने फागुन २ गते हामी विशेष कार्यक्रम गरेर नयाँ गाडीको बिक्री वितरण सुरु गर्ने छौं’ कम्पनी स्रोतले मेराेअटाेसँग भन्याे । 

नेपाली बजारमा हुन्डाई सेन्ट्रोको सिधा टक्कर मारुती सुजुकी सेलेरियोसँग हुने देखिएको छ । यद्यपी सेलेरियोभन्दा सेन्ट्रो केही पावरफुल रहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा अल न्यू हुन्डाई सेन्ट्रोलाई कम्पनीले डी–लाइट, इरा, मग्ना, स्पोर्टेज र अस्टा–ट्रीम गरी ५ भेरियन्टमा उपलब्ध गराएको छ । तर, नेपाली बजारमा कुन-कुन मोडल आउने छन् त्यसको विषयमा भने केही खुलाईएको छैन । 

हुन्डाई सेन्ट्रोमा १.१ लिटर, फोर-सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ, जसले ६९ ब्रेक हर्स पावर र ९९ एनएम-टर्क उत्पादन गर्छ । फाइभ-स्पीड म्यानूअल तथा अप्सनल फाइभ-स्पीड एएमटी गिएरबक्समा आउने यो कारले २०.३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ ।

नयाँ सेन्ट्रो अल न्यू के-१ प्लेटफर्ममा निर्माण गरिएको कार हो । यसमा हलोगेन हेडल्याम्प, वाइड ग्रील, फोगल्याम्प, स्टील ह्वील, हवक्याप तथा रियर साइडमा मिड–सेट टेलल्याम्प दिइएको छ ।

यसकासाथै सेन्ट्रोमा एप्पल कार-प्ले र एन्ड्रोइड अटोजस्ता फिचरहरु सपोर्ट गर्ने ७ इञ्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । यस्तै, नयाँ सेन्ट्रोमा सुरक्षाका लागि एबीएस, इबीडी, ड्राइभर–साइड एयरब्याग, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी डोर लक जस्ता सेफ्टी फिचर दिइएको छ । यसको टप भेरिएन्टमा डुअल एयरब्याग, लोड लिमिटर, स्पीड-सेन्सीङ डोर लकलगायतका फिचरहरु रहेका छन् । 

कम्पनीले गाडीलाई बलियो बनाउन ६३ प्रतिशत हाईस्ट्रेन्थ स्टिलको प्रयोग गरेको जनाएको छ । यो ह्याचब्याकको लम्बाई ३६१० एमएम, चौडाई १६४५ एमएम उचाई १५६० एमएम रहेको छ भने, यसको ह्वीलबेस २४०० एमएम रहेको छ । 

सेन्ट्रोमा फ्रन्ट र रियर दुवैतिर राम्रो इन्टेरियर दिनुका साथै बुट स्पेस २३५ लिटर रहेको छ । यसमा फ्यूल ट्यांक क्यापासीटी ३५ लिटर रहेको छ ।

संभवत नेपाली बजारमा सेन्ट्रोको वेस भेरियन्ट आउने छैन । मिड र टप भेरियन्टको गाडीमात्रै नेपाली बजारमा आउने हुँदा यसको मूल्य पनि कम्पनीले निकै आर्कषक दिन सक्नेछ । हाम्रो अनुमानमा इन्टोडक्टरी प्राइसको रुपमा कम्पनीले २३ लाख रुपैयाँ मूल्य राख्ने हामीले अनुमान गरेका छौं । यदी वेस भेरियन्टपनि नेपाली बजारमा आउने हो भने त्यसको मूल्य करिब २१ लाख रुपैयाँबाट सुरु हुने हाम्राे अनुमान छ । 


Back_to_top