सितापाईला-धार्के वैकल्पिक सडक कालोपत्रे सुरु, असारसम्म संचालनमा आउने

काठमाडौं । अहिले सितापाईला चोकदेखि ५ किलोमिटर परसम्मको बाटोमा कालोपत्रेको गर्ने काम भइरहेको छ । उपत्यका भित्रने र बाहिरीने सवारी साधनका कारण कलंकी–नौबिसे सडकखन्डमा हुने गरेको सवारी चापलाई कम गर्न वैकल्पीक सडकको रुपमा सितापाईला–धार्के सडकखन्ड निर्माण सुरु गरिएको थियो । 

करिव ३ वर्षअघि अर्थात् वि.सं. २०७२ साउनबाट विस्तार सुरु भएको यो सडक अहिलेसम्म जम्मा ६५ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । 

काठमाडौंको सितापाइलादेखि धादिङको धार्केसम्म २४ किलोमिटरको दुरीमा रहेको यो सडकमा कहिले स्थानीयको अवरोध र कहिले ठेकेदारको ढिलासुस्तीका कारण समयमा सम्पन्न हुन नसक्ने अबस्था आएको सडक डिभिजन कार्यालयका इन्जिनियर सुदर्शन कार्कीले बताए । 

‘बीचमा धेरै अवरोध आयो, त्यसैले पनि काम ढिला भयो’ मेरोअटोसँग कुरा गर्दै उनले भने । 

के हुँदैछ अहिले ?

इन्जिनियर कार्कीका अनुसार, सुरुमा ठेकेदार कम्पनी असिम/सिएम/जेभी कन्स्ट्रकसनले २२ मिटर चौडामा सडक विस्तार गर्न प्रस्ताव गरिएको थियो । 

स्थानीयको विरोध तथा अवरोधका कारण २२ मिटरलाई घटाएर नगरपालिकाको नेतृत्वमा ११ मिटर चौडा हुने गरी काम गर्ने सहमति भएको हो । 

‘११ मिटर चौडाको सडक बनाउनेगरी अहिले नगरपालिकाले घरटहरा भत्काउने काम गरिरहेको छ, अब स्थानीयको अवरोध लम्बिएन भने यो काम छिट्टै सकिन्छ ।’ कार्कीले भने । 

काम छिटो सक्न आफुहरु लागिपरेको सडक डिभिजन कार्यदय बताउँछ । डिभिजन कार्यलयका इन्जिनियर कार्की भन्छन्, अबको काम भनेको घर टहरा भत्काउने र कालोपत्रे गर्ने हो । 

अझै हटेनन् विजुली र फोनका तारहरु

सितापाईला–धार्के सडक निर्माणको क्रममा कहिले स्थानीयको अवरोध त कहिले विभिन्न पक्षहरुको अवरोध खडा भईनै रह्यो । काम गर्दैजाँदा विभिन्न थप अवरोधहरु सिर्जना भए । सडक विस्तार गर्नका लागि सडक खाली गराउनुपर्ने हुन्छ । तर, पनि सम्बन्धित निकायहरुले त्यसमा खासै ध्यान पुर्याएको जस्तो लाग्दैन । 

इन्जिनियर कार्कीले भने, सडकमा विजुली तथा टेलीफोनका तारहरु र पोलहरु त्यस्तै छन् । तिनीहरुलाई सम्बन्धित निकायले छिटो हटाएमा हामीलाई काम गर्न पनि सहज हुने थियो । 

सडकमा रहेका विजुलीका पोलहरु तथा टेलिफोनका तारहरु हटाउन हामीले पत्राचार गरिसकेका छौं, इन्जिनयर कार्की भन्छन्, यी कामहरु समयमै नहुँदा हाम्रो काममा बाधा भइरहेको छ । 

जाममुक्त होलान् त यात्रु ?

वैकल्पिक मार्ग सञ्चालनमा आएमा घन्टौ जामको समस्याबाट मुक्ति मिल्ने आशमा यात्रुहरु रहेका छन् । कलंकी–धार्केसम्मको घन्टौंघन्टा जाममा बस्दा आजीत भएका नागरिकको आशा पुरा गर्न भने सम्बन्धित निकाय असफल भैरहेका छन् । 

अबको केही समयमा जामको समस्या हटाएरै छाड्ने गरि काम भइरहेको इन्जिनियर कार्की बताउँछन् । 

कहिले सकिन्छ काम ?

सडक डिभिजन कार्यलयले यो सडक यसै आर्थिक वर्षमा सक्ने दावी गरेको छ । सबै कामहरु सकिसकेको छ, अब घरटहरा भत्काउने तथा सडक व्यवस्थित गर्ने कामहरु मात्रै बाँकी छन् । डिभिजन कार्यलयका इन्जिनियर कार्की भन्छन्, सडक निर्माणका क्रममा अब बाधाहरु नदेखिएमा जेठ÷असार भित्रमा सबै काम सम्पन्न हुन्छ  । 

उनले भने, वैकल्पिक सडक निर्माणमा ठेकेदार कम्पनीले पनि राम्रो साथ दिएको छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा यो काम सकिएरै छाड्छ, उनले जिकिर गरे ।  वैकल्पिक रुपमा यो सडक सञ्चालनमा आएपछि यात्रुहरुलाई सास्ती नहुनेसमेत उनले बताए । 


Back_to_top