अन्तर्राष्ट्रिय बजारमा इलेक्ट्रीक सवारीसाधनप्रतिको आकर्षण बढ्दै गएको छ । बढ्दो प्रदूषण नियन्त्रण गर्ने उद्देश्यसहित अटोमोबाइल्स कम्पनीले पेट्रोलियम पदार्थको विकल्पको रुपमा इलेक्ट्रीक प्रविधिको प्रयोगमा जोड दिएका हुन् । आकर्षण बढेसँगै इलेक्ट्रीक सवारीसाधन कतिको सुरक्षित छ भन्ने पुष्टी हुनसकेको छैन ।
चीनको सडकमा गुड्दै गरेको एक इलेक्ट्रीक मोटरसाइकलमा एक्कासी आगलागी भएपछि ईभी–मोडलमाथिको सुरक्षामा आशङ्का उब्जिएको छ । एक्कासी आगलागी सुरु भएको दश सेकेन्डमै जलेर खरानी भएको मोटरसाइकलको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।
कसरी लाग्छ आगो ?
इलेक्ट्रीक सवारीसाधानमा कम्प्लीकेटेड चार्जिङ्ग मोड्यूल र ब्याट्रीको प्रयोग गरिएको हुन्छ । जसले पावर मोटरलाई पावर सप्लाई गर्नेगर्छ । आधुनिक इलेक्ट्रीक सवारीमा हाई–इफिसिएन्ट लिथियम आयान ब्याट्रीको प्रयोग गरिएको हुन्छ । अटो विज्ञले लिथियम आयन ब्याट्रीलाई निकै खतरनाक भन्दै यसमा सुधार गर्नुपर्ने जनाइरहेका छन् ।
विशेषतः यसमा शर्ट–सर्किट र लिकेज हुने सम्भावना अत्याधिक हुने भएकाले आगलागीका घटना हुने गरेका छन् । आगलागीबाट बच्नका लागि मोटरसाइकलको ब्याट्रीको सुरक्षालाई विशेष ध्यान दिनुपर्छ । जसका लागि सम्बन्धित कम्पनीबाट सेफ्टी–डिभाइस इन्स्टल गर्नुपर्ने अटो विज्ञको सुझाव छ । ताकि, शर्क–शर्किटको समयमा ब्याट्री पावरको सप्लाई बन्द गर्न सकियोस् ।
यसकासाथै चालकले पन्चर वा ब्याट्रीमा लिकेज हुन्छ कि भन्ने ख्याल गर्नुपर्छ । इलेक्ट्रीक सवारीसाधनमा आगालागी भएको यो पहिलो घटना भने होइन । विशेषतः कम बजेटका मोटरसाइकल वा स्कुटरमा यस्ता घटना दोहोरिने गरेको छ ।
यसअघि टेस्ला कम्पनीको इलेक्ट्रीक गाडीमा पनि यसप्रकारको समस्या देखिएको थियो । उक्त कारमा पनि लिथियम आयन ब्याट्रीकै प्रयोग गरिएको थियो । यस्ता घटना दोहोरिँदै जानुले इलेक्ट्रीक सवारी उत्पादनमा अग्रेसिपरुपमा लागिपरेका अटो कम्पनीले सुरक्षालाई पनि उत्तिकै ध्यान दिनु जरुरी देखाएको छ ।

