वैशाखदेखि प्रदेशबाटै लाइसेन्स वितरण

काठमाडौं । आउँदो वैशाखदेखि प्रदेश–३ ले लाइसेन्स वितरण गर्ने तयारी गरेको छ । प्रदेश–३ यातायात व्यवस्था कार्यालय मकवानपुरका कार्यालय प्रमुख पोषण थापाले पूर्वाधार निर्माणको क्रममा रहेको बताउँदै आगामी वैशाखबाट लाइसेन्स वितरण सुरु गर्ने बताएका हुन् ।

नयाँ कार्यालयहरूको हकमा पूर्वाधारहरू निर्माण भइनसकेको कारण लाइसेन्स वितरणमा ढिला भएको उनले बताए । 

‘पूर्वाधारको कमीले लाइसेन्स वितरण गर्न नसकिएको हो, पूर्वाधार निर्माण हुन केही समय अझै लाग्छ, सम्पूर्ण पूर्वाधार निर्माण भए हामी वैशाखदेखि नै लाइसेन्स वितरण सुरु गछौँ, थापाले मेरोअटोसँग भने । 

उनकाअनुसार लाइसेन्स वितरण सुरु गर्न र त्यसका लागि पूर्वाधार निर्माण गर्न अझै २ महिना लाग्नेछ । 

हाल प्रदेश–३ मकवानपुरमा उपयुक्त ट्राइल सेन्टर नभएको र आवश्यक पूर्वाधार निर्माणकार्य भइरहेको उनले बताएका छन् । 

यस्तै, कर्णाली प्रदेश यातायात व्यवस्था सेवा कार्यालय सुर्खेत भने आवश्यक जनशक्ति नभएकै कारण लाइसेन्स कहिलेदेखि वितरण गर्न सकिन्छ भन्ने कुरामा अन्योलता रहेको जनाएको छ । 

कार्यालयका निमित्त कार्यालय प्रमुख घनश्याम बोगटी २८ जना दरबन्दी माग गरिएकोमा हाल ७ जना दरबन्दीबाट काम चलाउनुपरेको गुनासो गर्छन् । 

‘२८ जना जनशक्ति दरवन्दी पाऊँ भनी माग गरेको ६ महिना भइसक्यो हाम्रो संगठन संरचना अझै पास भएको छैन, अहिले ७ जनाको दरबन्दीले धानेका छौँ,’ बोगटीले मेरोअटोसँग भने । 

हाल कर्णाली प्रदेशमा ट्रायल प्रशिक्षण समिति नभएको र फिनिसिङ्ग केही नभएकाले लाइसेन्स वितरणको कामलाई अघि बढाउन नसकेको उनले बताए । 

पछिल्लो समय कर्णाली प्रदेशबाट लाइसेन्स नविकरणको काममात्र भइरहेको बताउँदै उनले भने, ‘दरबन्दी पुग्नासाथ हामी लाइसेन्स वितरण गर्छाँै ।’ 

सरकारले केही समय अघिबाट लाइसेन्स वितरणको कार्यभार प्रदेशलाई सुम्पिएको थियो । तर, आवश्यक जनशक्ति तथा पूर्वाधारको कमीका कारण अहिलेसम्म कुनै पनि प्रदेशबाट लाइसेन्स वितरण हुनसकेको छैन ।


Back_to_top