काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चर एशोसिएशन (नाइमा) को आधिकारिक घोषणा भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै नाइमाको औपचारिक घोषणा भएको हो ।
टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्यको अध्यक्षतामा नाइमा संचालक समिति बनेको हो । नाइमामा नाडाका दुई पूर्वध्यक्ष पनि संचालकका रूपमा रहेका छन् ।
नाडाका पूर्वाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा पनि नाइमामा सदस्य छन् । उनी हंशराज हुलास चन्द एण्ड कम्पनीमा आबद्ध छन् । गोल्छा ग्रुपका अध्यक्ष रहेका शेखरको कम्पनीले बजाज, केटीएम र ट्रयाम्फका मोटरसाइकल नेपालमै एसेम्बल गर्दै आएको छ ।
अर्का नाडाका पूर्वअध्यक्ष सौरभ ज्योति पनि नाइमाको संचालक बनेका छन् । होण्डाका मोटरसाइकल र कारको बिक्री वितरण गर्दै आएको स्याकार ट्रेडिङका चेयरम्यान ज्योतिले निकै चर्चित मोटोभ्लगर पनि हुन् । उनको कम्पनीले पनि होण्डाका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल गर्दै आएको छ ।
नयाँ संस्थामा नाडाका वर्तमान कार्यसमितिका दुई जना पनि संचालक बनेका छन् । लक्ष्मी मोटर कर्पोरेशनका संचालक निराकार श्रेष्ठ र साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ पनि संचालकमा चयन भएका छन् ।
हुन्डाईका कार नेपालमै एसेम्बल सुरू गरेका श्रेष्ठ नाडाको वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् । यमुना श्रेष्ठ भने कार्यसमिति सदस्या तथा राजस्व समिति सभापति छिन् । श्रेष्ठ न्यू इनर्जी भेहिकल ब्राण्ड बीवाइडीको आधिकारिक बिक्रेता हुन् ।
अटोमोबाइल क्षेत्रको मुद्दामा खासै बाहिर चर्चामा नआउने अग्नी इनकर्पोरेटका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ पनि संचालक छन् । उनको कम्पनीले महिन्द्राका प्यासेन्जर र लाइट कमर्शियल गाडी बिक्री गर्दै आएको छ ।

त्यस्तै, कन्टिनेन्टल ट्रेडिङका सुह्युद घिमिरे पनि सदस्य छन् । उनको कम्पनी किया र इसुजुको आधिकारिक बिक्रेता हो । एसपीजी अटोमोबाइल कम्पनीको तर्फबाट सन्दीप सारडा पनि संचालक बनेका छन् । एसपीजी अटोमोबाइलले ओमोडा/जेको, जीकर र निसान ब्राण्डको बिक्री गर्दै आएको छ ।
साँग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छा पनि संचालक छन् । उनको कम्पनीले लीपमोटर, सिट्रोन र प्यूजो ब्राण्डका गाडी बिक्री गर्दै आएको छ ।
पारामाउन्ट मोटर्सका संचालक निकुन्ज अग्रवाल पनि संचालक बनेका छन् । उनको कम्पनीले एमजी, विलिङ, माज्दा लगायतका ब्राण्ड नेपालमा बिक्री गर्दै आएको छ । काब्रा ग्रुपबाट उदयन काब्रा पनि संचालक छन् । उनको कम्पनीले भारतबेञ्जका गाडी बिक्री गर्दै आएको छ ।
नेपाल मोबिलिटी एक्स्पोमा तीन सदस्य चयन
आगामी साउन २१ गतेबाट आयोजना हुने नेपाल मोबिलिटी शो २०२५ को लागि तीन सदस्यि कमिटि गठन भएको छ ।
पहिलो पटक आयोजना हुने मोबिलिटी एक्स्पोमा गौरव सारडा, निराकार श्रेष्ठ र शिरिष मुरारका सदस्य छन् ।


